close

उदयपुरमा प्राकृतिक विपद् तयारी पूर्वाभ्यास : पहिरोले १ बेपत्ता, २ घाइते

उदयपुरमा प्राकृतिक विपद् तयारी पूर्वाभ्यास : पहिरोले १ बेपत्ता, २ घाइते

Trulli
ADVERTISEMENT

उदयपुर–    उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १० बरुवा धारमा पहिरो जाँदा एक जना स्थानीय बेपत्ता हुनुका साथै २ सख्त घाइते भएको छ । पहिरोमा परी बेपत्ता हुनेमा स्थानीय ५४ वर्षीय अमानसिंह राई रहेको उद्दारमा खटिएका सशस्त्र प्रहरी निरीक्षक राजेन्द्र बस्नेतले जानकारी दिए । 

 

घाइतेलाई सशस्त्र प्रहरीको टोलीले उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल गाईघाट लगिएको छ भने बेपत्ताको खोजी जारी रहेको प्रहरीले जनाएको छ । तर, यो कुनै वास्तविक घटना नभई प्राकृतिक विपद् आउनुअघि गरिने पूर्वतयारीको अभ्यास थियो । 

 

साँच्चिकै लाग्ने यो अभ्यासचाहिँ पहिरोको उच्च जोखिम रहेको उदयपुरमा स्थानीय जाल्पा एकीकृत विकास समाज उदयपुरको आयोजना तथा जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा पहिरो सिमुलेसन (नमुना प्रदर्शन) तथा जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण तालिमका क्रममा देखिएको पहिरोसम्बन्धी उद्दारको दृश्य हो । 

 

पहिरो जाँदा गरिने उद्दारको अभ्यास यो नेपालमै पहिलो भएको पहिरो व्यवस्थापन विशेषज्ञ रामकुमार दाहालले जानकारी दिए । 

 

उदयपुरका अधिकांश भूभाग पहाडी क्षेत्रमा अवस्थित छन् । त्यस क्षेत्रमा मनसुन समय पहिरोको जोखिम उच्च रहेकाले सोसम्बन्धी सचेतना र प्रतिकार्यका लागि पूर्वतयारीका क्रममा स्थानीय स्तरमा जनशक्ति तयार गर्न यस्तो अभ्यास आयोजना गरिएको आयोजक संस्थाका परियोजना संयोजक अजयकुमार साहले बताए ।

 

जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय पालिकाहरूको समन्वयमा संस्थाले पहिरो सामना किताब परियोजनाअन्तर्गत पहिरो सिमुलेसन नमुना प्रदर्शन तथा अभ्याससम्बन्धी ३ दिने जिल्लास्तरीय प्रशिक्षक तालिम आयोजना गरेको हो ।

 

उक्त तालिममा सहभागीलाई जिल्लामा पहिरोबाट हुने जोखिम स्थानमा कृत्रिम नमुना अभ्यास प्रदर्शन गरिएको संस्थाका अध्यक्ष पुष्पराज पोखरेलले बताए ।

 

सो क्रममा विपद् व्यवस्थापन विशेषज्ञ दाहालले पहिरो जोखिम व्यवस्थापनका साथै विपद जोखिम व्यवस्थापन, विपदसम्बन्धी अवधारणा, नेपालमा विपद्को अवस्था र विपद् व्यवस्थापनका चक्र एवं जलवायु परिवर्तनको कारण प्रभाव र असरबारे जनचेतनाको खाँचो औँल्याए ।

 

विपद्सम्बन्धी स्थानीय, प्रदेश र संघीय तहमा भएको विपद् व्यवस्थापनसँग सम्बन्धित नीति रणनीति, भूकम्प, बाढीपहिरोका कारण हुने असर र न्यूनीकरण व्यवस्थापनका साथै कृत्रिम घटना र अभ्याससमेतको आवश्यक्ता रहेको उनको भनाइ छ ।