close

भक्तपुरमा गाईजात्राको रौनक

भक्तपुरमा गाईजात्राको रौनक

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुरमा मृतकको सम्झनामा मंगलबार गाईजात्रा (सापारु) मनाइँदै छ । वर्षभरि मृत्यु भएका व्यक्तिको स्मृतिमा गाईजात्रा मनाइने गरेको हो ।

 

सापारुमा मृतकको घरबाट गाई, ताहासाँ, ताहामचा, माटोको साँ वा साना नानीलाई महादेव पार्वती बनाइन्छ । बनाइएका प्रतीकलाई नगरभित्र परिक्रमा गराइन्छ ।

 

यसरी परिक्रमा गराए मृतक व्यक्ति गाईको पुच्छर समातेर स्वर्गमा जाने मान्यता नेवारी समुदायमा छ । सापारुमा नेपाली भाषामा साँ भनेको गाई र पारु भनेको प्रतिपदा हो ।

 

भाद्र कृष्ण प्रतिपदाको दिन गाईजात्रा गर्दा मृतकले गाईको पुच्छर समातेर वैतरणी नदी तर्छन् भन्ने विश्वास भएर नेवार जातिले यो पर्व मनाउन थालेको संस्कृतविद् ओम धौभडेल बताउँछन् । 

 

सुरुमा यसलाई गाई यात्राको रूपमा चिनिन्थ्यो । मध्यसमय यात्रामा बाजागाजा थपिन थालेपछि गाईजात्रा भनिएको उनले बताए । 

 

आनन्द देवदेखि यक्ष मल्लसम्मको समय ३६७ वर्षसम्म नेपालको राजधानी भक्तपुर थियो । यक्ष मल्लको समयपछि काठमाडौं उपत्यका विभाजित भएसँगै काठमाडौं, भक्तपुर र ललितपुरमा भिन्दाभिन्दै संस्कृति विकास भयो । 

 

अहिलेसम्म पनि यी तीन ठाउँको नेवारी भाषा–संस्कृतिमा सामान्य अन्तर पाइन्छ । भक्तपुरमा बाँसलगायत आवश्यक सामग्री पाइने भएकाले यहाँको गाईजात्रा फरक हुने गरेको संस्कृतविद् धौभडेल सुनाउँछन् । 

 

गाईजात्रालाई मृतकको संख्या संकलन गर्ने आधारको रूपमा समेत लिन सकिने उनी बताउँछन् । नेवार समुदायमा मृत्यु भएका व्यक्तिको स्मृतिमा भक्तपुर नगरमा गाई परिक्रमा गराइन्छ । यसले वर्षभरि कति जनाको निधन भएको छ, सोको तथ्यांक लिन सकिने उनले बताए । 

 

गुन्हीपुन्हीमा तलेजु भगवान्को मन्दिरबाट सुरु हुने गाईजात्रा भाद्र कृष्णाष्टमीसम्म चल्छ । भक्तपुरमा गाईजात्रा ८ दिन ९ रात चल्ने गर्दछ । जात्राभरि बाजागाजासँगै नाच पनि समावेश गरिएको हुन्छ ।

 

तर, कोरोना महामारी नियन्त्रणका लागि यो वर्ष भक्तपुर नगरपालिकाले औपचारिक रूपमा जात्रा सीमित गर्न निर्देशन दिएको छ ।