close

बाटो बीचबाटै बग्छ कुलोको पानी

बाटो बीचबाटै बग्छ कुलोको पानी

Trulli
ADVERTISEMENT

भक्तपुर– जितपुरकी रीता खड्का पानी पर्न थालेपछि कार्यालय कसरी जाने भनी तनावमा हुन्छिन् । भक्तपुरको एक सहकारीमा कार्यरत उनी दैनिक स्कुटर लिएर कार्यालय जान्छिन् । तर, पानी परेपछि बाटोमै बगेको पानीले स्कुटर चलाउन डर लाग्ने उनी बताउँछिन् ।

 

उनी भन्छिन्, ‘बाटोमा सवारीसाधन चल्नुपर्ने हो । तर, कुलोको राम्रो व्यवस्थापन नभएकाले पानीको भेल बगिरहेको छ । अहिले बाटो कुलो भइसक्यो । बाटोको यस्तो दुरवस्था भए पनि कसैको ध्यान गएन ।’ 

 

उनको मात्रै होइन, कमलविनायक भत्केकोपाटी हुँदै जितपुर चरेली सडक खण्डबाट ओहोरदोहोर गर्ने हरेक यात्रुको अवस्था उस्तै छ । अफिस, कार्यालय जाउँ पानीले बगाउने चिन्ता, नजाउँ काम गुम्ने पिरलो । 

 

चाँगुनारायण नगरपालिकाको वडा नम्बर ७ र ८ मा पर्ने यो सडक खण्ड पर्यटकीय क्षेत्र नगरकोटको वैकल्पिक मार्गको रूपमा प्रयोग हुँदै आएको छ । करिब १२ किलोमिटरको सडकमा अधिंकाश क्षेत्र खाल्डाखुल्डी बनेको छ । पानी परेका बेला कालोपत्रे बाटो कहाँ छ भनी खोज्दै हिँड्नु र्ने गुनासो स्थानीयको छ ।

 

‘अझ एक ठाउँमा पानीले बाटो नै देखिँदैन । बाटोभन्दा माथिका सबै खेतको पानी सडकबाटै बग्छ । पानी ठूलो परेपछि बाटोमा बाढी आउँछ,’ स्थानीय श्याम श्रेष्ठले भने, ‘दैनिक ओहोरदोहोर गर्नेको बानी नै परिसकेको छ । तर, कहिलेकाहीँ यता आएका डराएर खाल्डोको पानी तर्छन्, कोही बाटैमा लड्छन् ।’ 

 

नगरप्रमुख सोमप्रसाद मिश्रले सडकमा बगेको पानी व्यवस्थापन गर्न ह्युमपाइप बिछ्याउन बजेट विनियोजन गरेको बताए । सो क्षेत्रमा पानी निकासका लागि कर्मचारीसहित ह्युमपाइप बिछ्याउन पठाएको तर खेतधनीले अवरोध गरेको उनले जानकारी दिए । 

 

मिश्रका अनुसार स्थानीयको गुनासो आएपछि पालिकाले पाइप बिछ्याउन पठाए पनि खेतधनीले फिर्ता पठाएका हुन् । बाटोका अन्य खाल्डोमा ग्राभेल बिछ्याउने तयारी भइरहेको उनको दाबी छ ।