close

जितिया पर्वमा रमाए थारु समुदाय

जितिया पर्वमा रमाए थारु समुदाय

Trulli
ADVERTISEMENT

उदयपुर– त्रियुगा नगरपालिका वडा नम्बर १३ थरुहट रंंगशालामा आदिवासी थारु समुदायले धुमधामका साथ जितिया पर्व (महोत्सव) मनाएका छन् । आफ्ना सन्तानको दीर्घायु, सुख–समृद्घि र मनोकामना पूर्ण गराउन जितियाको व्रत बस्ने गरिन्छ । जितिया थारु समुदायको महान् पर्व हो, । महिलाहरू आफ्नो सन्तानको दीर्घायु, सुख–समृद्घि र मनोकामना पूर्ण गराउन जितियाको व्रत बस्ने चलन छ ।

 

थारु समुदायमा जब मान्छे मर्नबाट संयोगवश जोगिन्छ, तब तिम्री आमाले जितिया व्रत लिएकी हुनाले तिमी बाँच्यौ भन्ने चलन छ । जितिया पर्व नवलपरासीदेखि पूर्वको तराईका जिल्लामा मनाउने गरिए पनि पछिल्लो समय काठमाडौंमा समेत मनाउन थालिएको छ ।  हिन्दु नारीले तीजमा जस्तै थारु महिलाले पनि प्रत्येक वर्ष असोज कृष्णपक्ष सप्तमीदेखि नवमीसम्म जितिया मनाउँछन् ।

 

परिवारको सुख, शान्ति र दीर्घायुको कामना गर्दै आपसी प्रेम साटासाट गरेर यो पर्व मनाइन्छ । विशेषतः माइत घर छाडी ससुराली घर गएका नवविवाहित र विवाहित महिलालाई माइती घरमा बोलाई लामो समयको भेटघाट, दुःख–सुखको भलाकुसारी गर्ने दिनको रूपमा पनि थारु समुदायमा यस पर्वलाई लिइन्छ ।

 

दाजुभाइ र दिदीबहिनीको माया, प्रेम तथा स्नेहको प्रतीकको रुपमा लिइने यो पर्व थारु समुदायको महत्त्वपूर्ण चाडमध्येको प्रमुख हो । यो पर्वमा दाजुभाइले दिदीबहिनीलाई माइतमा बोलाई मीठो–मीठो खानेकुरा खुवाई ससुराली पठाउने चलन छ । दाजुभाइले ससुरालीबाट माइती आएका दिदीबहिनीलाई एक जोर कपडा फेरिदिने गर्छन् ।

 

किंवदन्तीअनुसार ‘जितिया पावैन बड भारी, धियापुता कें ठोकि सुताई अपने खाइ भैर थारी’ थारु भाषाको यो कथन मिथिलाञ्चलमा निकै लोकप्रिय छ । यसको अर्थ जितिया पर्व गर्न एकदमै गाह्रो छ । बालबच्चालाई सुताएर व्रतालुले थालभरि खान्छिन् । जितिया पर्वसँग जोडिएको यो कथनबाट दुईटा भाव आउँछ । एउटा, यो पर्व एकदमै गाह्रो छ र अर्को, व्रतालुले थालभरि खान्छिन् ।  दुई खाले भाव झल्काउने यो कथनको जितिया पर्वसँग ठूलै सम्बन्ध छ । जितिया पर्वबारे भविष्य पुराणमा उल्लेख गरिएको छ ।

 

आश्विन कृष्णाष्टमी तिथिमा व्रत सुरु गर्नुपर्ने, कुशको मूर्ति बनाएर जित वाहनको पूजा गर्नुपर्ने हुन्छ । सो क्रममा कुशको मूर्ति कलशमा स्थापना गरी त्यसपछि आँगनमा सानो पोखरीको आकृति निर्माण गरेर डिलमा एउटा पाकरीको रुखको हाँगा गाड्नुपर्दछ ।

 

हाँगामाथि चिलको आकृति र त्यसमुनि एउटा स्यालनीको आकृति बनाएर विधिपूर्वक पूजा गरे सन्तानको बिग्रेको ग्रहगौचर सही हुने र अकाल मृत्युबाट जोगिने परम्परा समुदायमा रहेको थारु पण्डित वासुदेव चौधरीको कथन छ । 

 

असोज कृष्णपक्ष सप्तमीदेखि नवमीसम्म मनाइने यो पर्व सप्तमीको दिन नहाय खाएर यो सुरु हुने गर्छ । व्रतालु महिलाले बिहानै स्थानीय जलाशयमा स्नान गरी घिरौँलाको पातमा पिना, तेल, सिन्दुर चढाएर पूजा गरेर व्रत सुरु गर्छन् ।

 

सप्तमी तिथिका पोखरीमा सूर्यदेवलाई जल अर्पण गरी जिमुत वाहन देउताको संकल्प गर्नुपर्छ । यस विषयमा महादेवले जिमुत वाहन देउतालाई पूजा गरेर प्रसन्न पारेमा सन्तानको अकाल मृत्यु हुँदैन भनेर पार्वतीलाई जानकारी गराएको पुराणमा उल्लेख छ । यस पर्वमा नहाय खाएको दिन अनिवार्य व्रतालु महिलाले माछा तथा मरुवाको रोटी खाने चलन छ ।

 

पर्वको दोस्रो दिन अर्थात् अष्टमीका दिन व्रतालु महिला २४ घन्टा लामो निराहार उपबास बस्छन् । उपवासका दिन महिलाहरू एकै ठाउँ जम्मा भई भगवान् जितु वाहनका कथा श्रवण गर्ने तथा गीत भजन गाउने चलन छ ।


पर्व अवसरमा उदयपुरको थरुहट रंगशाला, बगाहा, देउरीलगायत ठाउँ–ठाउँमा भव्य जितिया महोत्सव गरियो । पर्वको अन्तिम दिन अर्थात् नवमी तिथिका दिन व्रतालु महिला पुनः नदी, पोखरी तथा जलाशयमा स्नान गरी घरमा आएर लगाएको चौकामा चिउरा, दही तथा सखरको प्रसाद बनाई अर्घ्य दिएर पर्व समापन गर्ने चलन छ ।

 

सधवाले कोदो (मरुवा) रोटी र माछा खाने गर्छन्, जसलाई माछमरुवा भनिन्छ । शाकाहारीले गम्हरी (कोसाभित्रै फल्ने धान) को खिर वा भात पनि खने चलन छ । जितिया अष्टमी तिथिको व्रत भएकाले अष्टमी तिथि रहुन्जेल निराहार बसिन्छ । 

 

नवमी तिथिमा स्नानादी गरी जिमुत वाहनलाई नैवेद्य अर्पण गरी प्रसाद ग्रहण गर्ने चलन छ । यो व्रतमा थुक पनि निल्न नहुने र ३६ घन्टासम्म निराहार उपवास बसी खण्डित गर्न नपाउने नियम रहेकाले यसलाई कठोर पर्वका रूपमा पनि लिने गरिन्छ । पहाडी समुदायका महिलाले दर खाएझैँ मैथिल महिलाले ओठङ्न विधि गर्छन् । जितिया मैथिल संस्कृतिमध्येको मुख्य पर्व हो । यसलाई जिमुत वाहन व्रत पनि भनिन्छ ।  उदयपुरमा आयोजित जितिया महोत्सवमा त्रियुगा नगरपालिका प्रमुख बलदेव चौधरी, प्रदेश सभासद् सुनिता चौधरीलगायतले शुभ कामना दिएका थिए ।