close

सेनाले मन्दिर लिपपोत गरेपछि गुठी पदाधिकारीलाई हाइसञ्चो 

सेनाले मन्दिर लिपपोत गरेपछि गुठी पदाधिकारीलाई हाइसञ्चो 

Trulli
ADVERTISEMENT

कर्णालीको धार्मिक स्थल प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिरको सजावट, लिपपोत र सरसफाइ नेपाली सेनाले गरेपछि चन्दननाथ गुठी व्यवस्था समितिका पदाधिकारीलाई हाइसञ्चो भएको छ ।

 

दसैँ नजिकिँदै गर्दा मन्दिरको लिपपोत, सजावटमा सेना जुटेको हो । यो धार्मिक पर्यटनको केन्द्र हो । दसैँमा टाढा–टाढादेखि भक्तालु आउने भएकाले मन्दिरलाई चिटिक्क बनाउन थालिएको चन्दननाथ भैरवनाथ गुठी समिति अध्यक्ष पूर्णसिंह कठायतले बताए । उनले भने, ‘मन्दिरको सजावट र सरसफाइ सेनाले गर्दै आएको छ । यसले मन्दिरको शोभा बढेको छ । हरेक महिनाको पहिलो सोमबार मन्दिरको सरसफाइ हुने गरेको उनले बताए ।

 

‘सेनाको नन्दाबक्स गण र २४ नम्बर बाहिनी अड्डा जुम्लाबाट मन्दिर सफाइ गर्न सेना आउने गरेको छ । मन्दिरलाई गाह्रो पर्दा सेनाले सघाउने गर्छ,’ उनले भने, ‘परम्परागत संस्कृति जोगाउन सेनाको भूमिका अतुलनीय छ ।’


नन्दाबक्स गणका उपसेनानी सन्तोष केसी पछिल्लो समय सेना धार्मिक पर्यटन प्रवद्र्धनमा जुटेको बताउँछन । उनले भने, ‘मन्दिर यहाँको पहिचान हो । मन्दिरको शोभा बचाइराख्नु पनि दायित्व हो । त्यो दायित्व सेनाले पूरा गरेको मात्र हो ।’


मन्दिरको सजावटमा १३ सैनिक परिचालन भएका छन् । यसअघि फूलका गमला राख्नेदेखि मन्दिर आसपास क्षेत्र सफा गर्ने काम सेनाले गरेको थियो । चामल ३० केजी, दाल ५ केजी, तेल ५ लिटर, चिनी ५ केजी, चियापत्ती २ केजी, मरमसला, बिस्कुट गरेर ५ पेटी मन्दिरमा दिइने गरेको छ । मन्दिरमा बस्ने पुजारी र अन्य कर्मचारीलाई सहज होस् भनेर सेनाले आवश्यक खाद्यान्नसमेत दिने गरेको हो ।


धार्मिक पर्यटनको बलियो आधार चन्दननाथ मन्दिर भएकाले धार्मिक पर्यटक आकर्षित गर्न सेना सजावटमा खटिएको हो । गुठी समितिका अध्यक्ष कठायतले भने, ‘सेनाले कर्णालीको धार्मिक पर्यटनमा देखाएको चासो प्रशंसनीय छ । मन्दिरको लिपपोतदेखि लिएर सजावटसम्मको काम सेनाले गरेको छ ।’