close

पातारासीका ४० कोभिड प्रभावित घरपरिवारलाई राहत

पातारासीका ४० कोभिड प्रभावित घरपरिवारलाई राहत

Trulli
ADVERTISEMENT

जुम्ला– जुम्लाको पातारासी गाउँपालिकाभित्रका कोभिड प्रभावित घरपरिवारलाई राहत वितरण गरिएको छ ।  पातारासीका ४० कोभिड प्रभावित घरपरिवारलाई राहत सामाग्री वितरण गरिएको हो ।

 

प्रतिपरिवार १ बोरा चामल, साढे २ केजी दाल, २ लिटर तेल, १ पोका नुन र १ केजी चिनी उपलब्ध गराइएको हो । कोभिड प्रभावित घरपरिवारको समस्या केही हदसम्म समाधान होस् भन्ने उद्देश्यले राहत उपलब्ध गराइएको पेस नेपालका कार्यक्रम संयोजक हेमराज भट्टले बताए ।

 

उनले भने, ‘कारितास जर्मनी, कारितास नेपालको आर्थिक सहयोग र पेस नेपालको साझेदारीमा सञ्चालित नेपाल कोभिड–१९ प्रतिकार्य परियोजना २०२१ अन्तर्गत खाद्यान्न सामग्री सहयोग गरेका हौँ ।’

 

पालिकाले कोभिड प्रभावितको सूचीमा राखेका परिवारलाई राहत उपलब्ध गराइएको हो । राहत वितरण गर्दै गाउँपालिका उपाध्यक्ष पुन्नकली महताराले थोरै भए पनि कोभिड प्रभावितको परिवारमा यसले सहयोग पुगेको बताइन् । उनले भनिन्, ‘कोरोना सामूहिक समस्या थियो । कुनै एक व्यक्ति सहयोगले गर्दैमा रोकिने अवस्था थिएन । यो बीचमा धेरै परिवार प्रभावित बने । तर, अतिविपन्न परिवार छानेर राहत दिएका हौँ । विपन्न ज्याला मजदुरी गरेर खाने, अपांगता भएका व्यक्ति, एकल महिला छानेर राहत दिइएको हो ।’


पेस नेपालका अध्यक्ष किशोर न्यौपानेले प्रभावितको सूची गाउँपालिकासँग समन्वय गरेर राहत उपलब्ध गराइएको बताए । उनले भने, ‘कोरोना महामारीका कारण सबै प्रभावित बने । तर, सबैभन्दा बढी प्रभावित छनोट गरेर राहत दिइएको छ ।’

 

कोरोना संक्रमण फैलन नदिन लामो समय जिल्लामा निषेधाज्ञा चल्यो । त्यो बेला ज्याला, मजदुरीका काम हुन सकेनन् । घरमै थन्किएर बस्दा आम्दानीको स्रोत गुम्यो । उनले भने, ‘अहिले हातमुख जोड्न पनि कठिन भएको छ । यो अवस्थामा दिइएको खाद्यान्न सामग्रीले महत्त्व राखेको छ ।’ 


कोरोनाबाट प्रभावित ताराबहादुर बोहराले राहतले एक महिनासम्म गुजारा चल्ने बताए । कोरोना प्रभावितलाई केन्द्रित गरेर राहत बाँडेकामा स्थानीयले खुसी व्यक्त गरे ।