close

म्यान्मारका कालिगढले कुँदेको बुद्ध मूर्ति भैरहवा आइपुग्यो 

म्यान्मारका कालिगढले कुँदेको बुद्ध मूर्ति भैरहवा आइपुग्यो 

Trulli
ADVERTISEMENT

रूपन्देही–म्यानमारका कालिगढले बनाएको बहुमूल्य बुद्धमूति गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्न भैरहवा ल्याइएको छ । बुद्धको मूर्तिलाई रूपन्देहीको भैरहवामा बजागाजासहित नगर परिक्रमा गराइएको छ । उक्त मूर्ति हङकङ हुँदै भारतको कोलकाता बन्दरगाहबाट शुक्रबार भैरहवा ल्याइपुर्‍याइएको थियो ।
मूर्तिलाई शनिबार भैरहवा र लुम्बिनी क्षेत्रका व्यावसायिक संघ–संस्थाले स्वागत गर्दै नगर परिक्रमा गराए ।


बुद्धमूर्तिलाई नगरपरिक्रमा गराउन सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवा तथा विभिन्न संघ–संस्थाले अगुवाइ गरेका थिए । बेलहिया भन्सार परिसरबाट कलश यात्रासहित उक्त बुद्धमूर्तिलाई आँखा अस्पताल, देवकोटा चोक, मिलन चोक, नारायण पथ हुँदै बुद्धचोकबाट लुम्बिनीतर्फ पठाइएको छ ।


म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालविन ग्रुपले स्पेनमा रहेको लुम्बिनी गार्डेन फाउन्डेसनलाई उपलब्ध गराएको उक्त बुद्धमूर्ति फाउन्डेसनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्न नेपाल ल्याइएको जनाएको छ ।  राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाको नेतृत्वमा लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरीलगायतको टोली स्पेनको एक कार्यक्रममा गएका बेला मूर्ति राख्ने विषय औपचारिक रूपमा अघि बढेको थियो ।

 

बुद्धमूर्तिलाई बुद्ध जन्मभूमि लुम्बिनी परिक्रमा गराई पुनः विमानस्थल ल्याएर राखिनेछ । बहुमूल्य पत्थर ‘ह्वाइट जेड स्टोन’बाट बनेको बुद्धमूर्ति साढे २ अर्ब मूल्य बराबर रहेको बताइएको छ । १ दशमलव ९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको बुद्धमूर्तिको तौल १ हजार ८ सय किलोग्राम छ । सो बुद्धमूर्तिमा प्रयोग भएको बहुमूल्य धातु ‘ह्वाइट जेड’ को हालको अन्तर्राष्ट्रिय बजार मूल्य प्रतिग्राम १२ डलर रहेको छ ।

 

विमानस्थलमा राखेपछि आगामी १४ कात्तिकमा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त बुद्धमूर्ति अनावरण गर्ने कार्यक्रम तय भएको लुम्बिनी गार्डेन फाउन्डेसनका सचिव तुलसीराम लामिछानेले बताए ।

 

बुद्धमूर्ति अनावरण कार्यक्रममा स्पेनको एक्स्ट्रेमादुरा प्रदेश सभाका अध्यक्ष ब्लान्सा मार्टिन, डेल्गाडो र सोही प्रदेशका दुई जना मन्त्रीसमेत आउने कार्यक्रम रहेको लुम्बिनी गार्डेन फाउन्डेसनले बताएको छ ।