close

बाढीले १३ हेक्टर खेतीयोग्य जमिन कटान

बाढीले १३ हेक्टर खेतीयोग्य जमिन कटान

Trulli
ADVERTISEMENT

जुम्ला– गत कात्तिक पहिलो साता आएको बेमौसमी वर्षाका कारण जुम्लामा कृषि क्षेत्रले करोडौं गुमाएको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार बेमौसमी वर्षाले १३ हेक्टर खेतीयोग्य जमिन पूर्ण रूपमा कटान भएको हो । तातोपानी गाउँपालिका वडा नम्बर ४, ७, ८ र तिला गाउँपालिका वडा नम्बर ४ मा खेतीयोग्य जमिन बाढीले कटान गरेकोे हो । 


बाढीले खेतीयोग्य जमिनसँगै घर भित्र्याउन लागेको धान पनि बगाएकाले किसान चिन्तित छन् । कृषक कर्णबहादुर हमाल बेमौसमी वर्षाले धान मात्रको क्षति भए पनि अर्को वर्ष गर्न सकिने अवस्था रहने बताए । तर, धान रोप्ने जमिन नै खोलाले बगाएपछि अर्को वर्ष खेती गर्न सकिने अवस्था नरहेको उनको भनाइ छ । उनले भने, ‘कडा मिहिनेत गरेर उत्पादन गरिएको धान पनि रहेन । जमिन पनि रहेन । अब के खाने, के गर्ने भन्ने पिरलोमा छौँ ।’


उनको ६ मुरी खेतमा लगाइएको धान र खेतसमेत बाढीले बगाएको छ । खेत बाढीले लैजाँदा घरबाट टुलुटुलु हेर्नुको विकल्प नभएको उनको गुनासो छ । 
हमालले भने, ‘यो वर्ष भोकमरी नै हुने भयो । अर्को वर्ष खेती गर्ने जमिनसमेत बाढीले लग्यो । हामीले सुकुम्बासी बनाइदियो ।’ जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटा जिल्लाको २१ हेक्टरमा लगाएको धान खेतीमा क्षति पुगेको बताउँछन् । उनले भने, ‘१३ हेक्टरमा लगाएको धानसँगै जमिन पनि बगायो । बाँकी क्षेत्रमा धानमा मात्र क्षति पुग्यो । यो निकै ठूलो क्षति हो ।’


तिला गाउँपालिका वडा नम्बर ४ मा १३ हेक्टर क्षेत्रफलमा लगाएको धानबालीमा क्षति पुगेको छ । यसमध्ये १० हेक्टर जमिनसँगै धान पनि बगेको हो । ‘३ हेक्टर जमिनमा लगाएको धान पहिरोमा डुब्यो । मार्सी धान उत्पादन हुने तातोपानी र लाछु जिउलोमा पनि धान पहिरोले डुबायो । यो जिउलोमा मार्सी धान खेतीको पहिलो परीक्षण गरिएको थियो’, देवकोटाले भने ।


तातोपानी वडा नम्बर ४ मा ५ हेक्टर जमिनमा लगाइएको बाली नष्ट भएको छ । ‘यसमध्ये ३ हेक्टर कटान गरिसकेको छ । १ हेक्टरमा गरिएको खेती डुबायो’, कृषि कार्यालय प्रमुख देवकोटाले भने, ‘यो प्रारम्भिक प्रतिवेदन हो । विस्तृत क्षति विवरण संकलन गर्न स्थानीय प्रशासनका प्रतिनिधि, जलस्रोत तथा ऊर्जा विकास कार्यालयका प्राविधिक, कृषि प्राविधिक र सम्बन्धित स्थानीय तहको कृषि शाखाका प्रतिनिधि बाढी प्रभावित क्षेत्रमा खटाइएको छ ।’ टोली गाउँ–गाउँमा खटिएको उनले बताए । टोलीले कृषि क्षेत्रमा बाढीले पु¥याएको क्षतिबारे यकिन विवरण प्राप्त हुनेछ । त्यसैको आधारमा राहत प्याकेज बनाइनेछ ।

 

तिला गाउँपालिका वडा नम्बर ४ मा सामुदायिक स्याउ बगैँचा र वडा नम्बर ८ मा ओखर नर्सरीसमेत बगाएको छ । वर्षाले खासै क्षति भएन । तर, वर्षासँगै गिडीखोला र भेरीखोलामा आएको बाढीले कृषिलाई तहसनहस बनाएको हो । 


जथाभावी डोजरलगायत इक्युपमेन्ट प्रयोग गरेर आन्तरिक सडक खनिनु, खोलामा नदीजन्य वस्तुको मनपरी उत्खनन हुनु र वन–जंगलको विनास हुँदै जानुले बाढी निम्तिएको कृषि प्रमुख देवकोटा बताउँछन् ।


जुम्लामा धान खेती हुने जमिन २ हजार ९ सय हेक्टर रहेको छ । बाढीले २० प्रतिशत उन्नत जातको धान नष्ट भएकामा ८० प्रतिशत मार्सी धानमा क्षति पुगेको कृषि विकास कार्यालयको तथ्यांक छ । 

 

यो वर्ष धानमा खासै रोग संक्रमण थिएन’, उनले भने, ‘मल बढी प्रयोग भएकाले नाइट्रोजनको मात्रा बढी देखिएको थियो । मार्सी धानले नाइट्रोजन बढी सहँदैन । मार्सी धानमा मल प्रयोगबारे किसानलाई जानकारी गराइँदै आएको छ ।’


प्रमुख देवकोटाले किसानलाई राहतका लागि पहल भइरहेको जानकारी दिए । ‘प्रदेश मन्त्रालयमा फोन गरेर यहाँको बाढीले पु¥याएको क्षतिपूर्तिका लागि बजेट व्यवस्थापन गर्न आग्रह गरिएको छ’, उनले भने, ‘अहिले आएको कार्यक्रमलाई संशोधन गरेर बाढी प्रभावित अनुकूलको कार्यक्रम ल्याउन माग गरिएको छ ।’
उनले बाढी आउने सम्भावित क्षेत्रमा वृक्षारोपणका क्रियाकलाप गर्न सरोकारवालाको ध्यानाकर्षण गराए ।