close

सकिमना पुन्ही मनाउँदै भक्तपुरबासी

सकिमना पुन्ही मनाउँदै भक्तपुरबासी

Trulli
ADVERTISEMENT

भक्तपुर–बजारमा कर्कलो किनेर वा आफ्नै बारीको कर्कलो पकाएर खाने चलन छ । तर, कर्कलो जरा अर्थात् त्यसको पिँडालु उसिनेर उपत्यका नेवार समुदायले खाने पर्व अर्थात् सकिमना पर्व मनाउँदै छन् । 


नेवार समुदायले प्रत्येक कार्तिक शुक्ल पूर्णिमाका दिन यो पर्व मनाउने गर्छन् । सकिमना पुन्हीलाई शाब्दिक अर्थमा सकी भन्नाले पिँडालु र मना भन्नाले उसिनु वा उसिन्ने हो । पिँडालु उसिन्ने पर्वलाई सकिमन्ना पुन्ही भनिएको हो । 


यो दिन भक्तपुरको मुख्य तीर्थस्थल चाँगुनारायण, सूर्यविनायक, कमलविनायकलगायतका मन्दिरमा पूजाआजा गर्नेको घुँइचो लाग्ने गर्दछ । स्थानीयले बारीमा फलेका वा उमारेका पिँडालुसँगै मकै भटमास, गहुँ, चनालगायतको परिकारलाई पकाएर वा भुटेर यो दिन मन्दिरमा चढाउने गर्छन् । 

 

बर्सेनि सकिमना पुन्हीको दिन पिँडालु उसिनेर खाँदै आए पनि नयाँ पुस्तालाई पर्व किन र कसरी मनाइन्छ भन्ने जानकारी नभएको बूढापाका बताउँछन् । भक्तपुरका रमिला सुवालले बर्सेनि यो दिन बारीबाट पिँडालु निकालेर खाने गरिए पनि किन यो पर्व मनाएको भन्ने कुनै जानकारी नभएको बताइन् । 

 

संस्कृतविद् ओम धौभडेलका अनुसार एक पटक रावणले सृष्टिकर्ता ब्रह्मादेखि डाहा लागेर सम्पूर्ण दानवलाई मानव बनाउन कठोर तपस्या गरेछन् । तपस्या सफल भएपछि खाने वस्तु अभाव भयो ।


त्यसपछि रावणले जमिनमाथि मकै र जमिनमुनि पिँडालु उत्पन्न गरे । पछि सम्पूर्ण देवता र मानव मिलेर रावणको प्रयास असफल बनाउन कर्कलो सखाप पार्नतिर लागे । त्यसै क्रममा दसहराको दिन कर्कलाको तरकारी खाने, जनैपूर्णिमाको दिन कर्कलाको अचार खाने र मंसिर शुक्ल पूर्णिमाको दिन पिँडालु खानुलाई राक्षस निर्मूल गरेसरह मानिन्छ ।

 

उनका अनुसार परापूर्वकालमा नेपालमा अनिकाल परेछ । धानको बिउसमेत पाइएन । खानका लागि गहुँ, मकै, भटमासजस्ता अन्न मात्र बाँकी भए । त्यही अन्न खान हुन्छ भन्ने सन्देश दिने उद्देश्यले कार्तिक शुक्ल पूर्णिमाको दिन यस्तै विभिन्न अन्नबाट देवदेवीको चित्र बनाई पछि त्यही अन्न प्रसादको रूपमा खाने चलन बसालियो । 

 

यो कुरा नेपाल संवत् ८१८ मा भूपतिन्द्र मल्लले लेखाएको भक्तपुर दरबार क्षेत्रको मालती चोकको अभिलेखबाट पुष्टि हुन्छ । भक्तपुर तलेजुभित्र सकिमना पुन्ही मनाउने क्रममा तलेजु भवानीलाई खिर चढाउने गरिन्छ । साथै, तलेजु मूलचोकको स्नेह मण्डपमा नसा ब्वयेगु गरिन्छ ।

 

यो दिन मन्दिर र चोकका पाटीमा समूह मिलेर विभिन्न वाद्यवादनका साथ बाजागाजासहित भजन गाइन्छ । विशेषगरी बूढापाका ठाउँ–ठाउँका पाटीमा बसेर भजनमा रमाउँछन् । पर्वका क्रममा महिला व्रत बस्ने चलन छ ।