close

छुईगोठ मुक्त भए पातारासीका सात गाउँ 

छुईगोठ मुक्त भए पातारासीका सात गाउँ 

Trulli
ADVERTISEMENT

जुम्ला–जुम्लाको पातारासी गाउँपालिकाभित्रका सात गाउँ छुईगोठ मुक्त भएका छन् । पातारासी गाउँपालिका वडा नम्बर ५ का माथिलोर्प र तलिलोर्प गाउँ छुईगोठ मुक्त भएका छन् भने वडा नम्बर ४ का लुम र भोटगाउँ छुईगोठ मुक्त भएका हुन् ।  यस्तै, वडा नम्बर २ का तल्फी, परे र धोपगाउँ छुईगोठ मुक्त भएको पातारासी गाउँपालिका महिला तथा बालबालिका शाखा जुम्लाकी संयोजक भगवती गिरीले बताइन् । 


छुई अर्थात् महिनावारी भएका अवस्थामा छुईगोठ वा छुईखुल्लोमा बस्ने यो पुरानै चलन हो । तर, सर्वाेदय नेपाल, जुम्ला र पातारासी गाउँपालिका महिला तथा बालबालिका शाखाले महिला, पुरुष र धामीझाँक्रीलाई सचेतीकरण गर्दै छुई भएको अवस्थामा घरभित्रै बस्ने वातावरण सिर्जना गरेपछि गाउँ छुईगोठ मुक्त गर्न थालिएको उनले बताइन् ।

 

दुई नमुना जोडीलाई सम्मान 


महिनावारी तथा रजस्वला भएको बेला घरैमा बस्ने साउनी बोहरा, उनका पति कालु बोहरालाई गाउँपालिकाले सम्मान गरेको छ । यस्तै, वीरे सार्की र उनकी श्रीमती रेउली सार्कीलाई पनि सम्मान गरिएको हो ।


महिनावारी अर्थात् छुई भएको अवस्थामा घरैमा बस्ने तथा अरूलाई बस्न प्रेरित गरेको हौसला मिलोस् भन्ने उद्देश्यका साथ सम्मान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत टेकबहादुर बुढ्थापाले बताए ।


नेपालको विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा छुईप्रथा मान्ने चलन छ । अघिल्ला वर्षमा नेपाल सरकार, गृह मन्त्रालयको आदेशमा विशेषगरी यी दुई जिल्लामा प्रहरीले छुईगोठ भत्काएको थियो । समाजमा कुरीतिका रूपमा जकडिएको छाउपडी अन्त्य गर्न पातारासीले पनि छुईगोठ मुक्त गाउँ अभियान थालेको छ । 


महिनावारी भएका बेला गोठमा बसेका कारण धेरै महिलाले ज्यान गुमाएको भन्दै सुरक्षित कोठामा बस्न गाउँपालिका अध्यक्ष लक्षीमान बोहराले आग्रह गरे । महिला गोठमा बसेको देखेको खण्डमा पालिकाले कानुनी कारबाही गर्न बाध्य हुने पनि चेतावनी दिइएको छ । मुलुकी अपराध (संहिता) ऐनको दफा १६८ (३) मा रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्ने वा अन्य भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्न नहुने उल्लेख छ ।


यस्तो कसुर गरेको ठहर भए ३ महिनासम्म कैद वा ३ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था गरिएको छ । तर, जिल्लामा अहिलेसम्म उक्त कानुनको पूर्ण पालना हुन नसकेका कारण छाउपडी प्रथा जटिल बन्दै गएको सर्वोदय नेपाल जुम्लाका निर्देशक कमलराज खत्रीले बताए ।