close

चाँगुनारायणमा नाम मात्रका बालग्राम : भान्छामा छैन खाना, भवन वरपर फोहोरको डंगुर

चाँगुनारायणमा नाम मात्रका बालग्राम : भान्छामा छैन खाना, भवन वरपर फोहोरको डंगुर

Trulli
ADVERTISEMENT

भक्तपुर– कुहिएको गोलभेडाको पोको । डिक्चीमा राखिएको दाल । एक बोेरा चामल । अनि, फोहोरको थुप्रो । दुवाकोटस्थित परोपकार बालग्राम केन्द्र पुग्ने जोकोहीले यो दृश्य देख्न पाउँछन् । साढे दुई दशकदेखि सञ्चालनमा रहेको सो केन्द्रमा ४ जना मात्रै बालक छन् । तर, उनीहरूलाई खान न कुनै तरकारी छ, न त कुनै स्टोर रुम । 

 

चाँगुनारायण नगरपालिका वडा नम्बर २ मा रहेको केन्द्रान बालविकास र किशोरी विकासका लागि आवश्यक पर्ने कुनै पौस्टिक खाना पाइँदैन । न त सरसफाइ गर्न साबुन या पानी । 

केन्द्रको प्रमाणको रूपमा दुई भवन मात्र ठडिएका छन् । चार बालक र एक सहयोगी आमा छन्, केन्द्रमा । त्यसबाहेक वरपर उम्रेका झाडी । भवनअगाडि फोहोर डंगुर छरपस्ट देखिन्छ । 
चाँगुनारायण नगरपालिकाको नगर बाल अधिकार समितिले नगर क्षेत्रका बालगृहमा गरेको अनुगमनमा यस्तो देखिएको हो ।
समितिका अध्यक्ष कृष्णा कार्कीको नेतृत्वमा पालिकाले अनुगमन गरेको थियो । 
उपप्रमुख बिना बास्तोलाको उपस्थितिमा नगरभित्रका ६ मध्ये ५ वटा बालग्राम अनुगमन गरिएको अध्यक्ष कार्कीले बताइन् । 

उनका अनुसार नगरका वडा नम्बर ९ ताथलीको काम फर सुड नेपाल बालग्राम, वडा नम्बर ७ खरिपाटीको सिद्धि स्मृति बालग्राम, वडा नम्बर १ दुवाकोटको थानाका नेपाल, वडा नम्बर २ दुवाकोटको परोपकार बालग्राम केन्द्र र टुहुराटुहुरी बालबालिका उद्दार केन्द्रको निरीक्षण गरिएको हो । 

बालमैत्री स्थानीय शासन घोषणा गर्न नगरभित्रका बालग्राम केन्द्र अनुगमन गर्नुपर्ने र सोहीअनुरूप बालगृहको अनुगमन गरिएको बालमैत्री स्थानीय शासनका सम्र्पक व्यक्ति तथा नगरपालिका अधिकृत आशा माझीले बताइन् । 

केन्द्रबाट चलाइएका बालग्राममै छैन आहार

५ वटा बालगृहमध्ये अनुगमन टोलीले २ वटा बालग्राममा बालबालिकाका लागि खाद्यान्न नरहेको देखिएको उपप्रमुख बास्तोलाले जानकारी दिइन् ।
उनले दुवाकोटको टुहराटुहुरी बालबालिका उद्दार केन्द्र र परोपकार बालग्राम केन्द्रमा मापदण्ड विपरीत बालबालिकालाई राखिँदै आएको उनले बताइन् । 
‘हामीले भान्छाकोठा हेर्दा फोहोर, खाद्यान्न नभएको पायौँ । एक ठाउँमा कुहिएको गोलभेडाको पोको र कुहिएका तरकारी भेटायौँ,’ बास्तोलाले भनिन्, ‘न सम्पर्क व्यक्ति नै छन् । बालबालिकाको अनुहार हेर्दा टिठ लाग्यो ।’

कुनै बालगृहमा बालबालिकालाई संरक्षण मात्रै नभई आत्मनिर्भर पनि बनाइएको उनले बताइन् । ताथलीको बालग्रामले बालबालिकालाई आवश्यक मासु, तरकारी, दूध केन्द्र आफैँले उत्पादन गरेको रहेछ । उनले भनिन्, ‘बालबालिका पनि तेजिला छन् । आफ्नो काम आफैं गर्छन् । गुनासो गर्ने ठाउँ भेटिएन ।’

परोपकार र टुहुराटुहुरीमा बालबालिका सुरक्षित नहुने भएकाले दुवैलाई पालिकामा बोलाएर कारबाही गरिने उपप्रमुख बास्तोलाले बताइन् ।
परोपकार बालग्राम केन्द्रलाई पटक–पटक लिखित सूचना पठाइए पनि सुनुवाइ नभएको उनको भनाइ । बास्तोलाले भनिन्, ‘सो केन्द्र केन्द्रीय स्तरबाट सञ्चालनमा ल्याइएको हो । पहिले अनुगमन गरेर पालिकाले पटक–पटक सूचना पठाए पनि सम्बन्धित व्यक्ति सम्पर्कमा आएनन् ।’