close

भक्तपुरमा तिहार लक्षित बजार अनुगमन

भक्तपुरमा तिहार लक्षित बजार अनुगमन

Trulli
ADVERTISEMENT

भक्तपुर–तिहार नजिकिएसँगै भक्तपुर नगरपालिकाले बजार अनुगमनलाई तीव्र बनाएको छ । पालिकाले च्याम्हासिंहमा रहेका मिठाई र फलफूल पसलमा अनुगमन गरेको हो ।


बजार अनुगमनका क्रममा टोलीले पसलमा अखाद्य वस्तु फेला पारेको छ । प्याकेजिङ गरेका सामान खाद्य विभागबाट अनुज्ञापत्र लिई लेबल राखेर मात्र बिक्री वितरण गर्नुपर्नेमा अधिकांश पसलले मापदण्ड पूरा नगरेको तथा म्याद नाघेका सामान पाइएको नगरपालिकाले बताएको छ ।


वडा निरीक्षक रामकृष्ण प्रजापतिले न्यू दोलखाली मिठाई भण्डारमा रंग बढी भएको पुरी साढे १ केजी र बिग्रेको तेल १ लिटर जफत गरी नष्ट गरेको जानकारी दिए ।


च्याम्हासिंहको दिनेश लाछिमस्यूको मिठाई पसल, सृष्टि फुड सेन्टर, चाँगुनारायण फ्रुटस् सेन्टर, लक्ष्मी स्वीटस् एण्ड प्यालेस, न्यू दोलखाली मिठाई भण्डार र ब्रह्मायणी जुस एन्ड फुड सेन्टरमा अनुगमन गरिएको उनले बताए ।


अनुगमनका क्रममा भान्छाकोठा फोहोर देखिएकाले सफा गर्न, खानेपानी शुद्ध प्रयोग गर्न, ड्रमको पानी मिठाईमा प्रयोग नगर्न, मूल्यसूची राख्न, प्याकेजिङ गरिएका सामान खाद्य विभागबाट अनुज्ञापत्र लिई लेबल राख्न, कामदारलाई एप्रोन, मास्क, पञ्जा प्रयोग गराउन निर्देशन दिइएको उनको भनाइ छ ।

 

टोलीले ब्रह्मायणी जुस एन्ड फुड सेन्टरलाई मूल्यसूची राख्न निर्देशन दिएको छ । म्याद नाघेका सामान कोक २०० मिलिको ७ वटा, स्प्राइट ५०० मिलिको ९ वटा, ड्यु ५०० मिलिको १ वटा, डार्क फान्टासी बिस्कुट ५ प्याकेट, चकलेट कुकिज ४ प्याकेट जफत गरी नष्ट गरेको अनुगमन टोलीले बताएको छ ।


सो पसललाई ३ दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ । अनुगमनका क्रममा टोलीले सबै पसलहाई प्याकेजिङ सामानमा खाद्य विभागबाट अनुज्ञापत्र लिई लेबल राखेर बिक्री वितरण गर्न, कामदारलाई एप्रोन, मास्क, पञ्जा, हेयर क्याप प्रयोग गर्न निर्देशन दिएको छ ।