close

भक्तपुरका स्थानीयले बनाए स्वर्ग जाने द्वार

भक्तपुरका स्थानीयले बनाए स्वर्ग जाने द्वार

Trulli
ADVERTISEMENT

भक्तपुर–भक्तपुर नगरपालिकाले हनुमान क्षेत्रमा रहेको खोह्र दीप र छिपा ताँको पुनर्निर्माण गरेको छ । ०७२ को भूकम्पले भत्किएको सो क्षेत्रको पुनर्निर्माण स्थानीयको आर्थिक सहयोगमा पुनर्निर्माण भएको हो ।

 

स्वर्ग जाने बाटोको रूपमा परिचित खोह्र दीपको रामायणकालदेखि ऐतिहासिक तथा पौराणिक महत्त्व रहेको स्थानीय बताउँछन् । हनुमान घाटमा भक्तपुरका स्थानीयले मरेका व्यक्तिको दाहसंस्कार गर्दै आएका छन् । 


भूकम्पबाट क्षतिग्रस्त भई अलपत्र रहँदै आएको सो क्षेत्र पुनर्निर्माणका लागि स्थानीय नागरिक र सरकारले चासो देखाएसँगै स्थानीयले आर्थिक सहयोग गरेका हुन् । स्थानीय र स्थानीय गुठीबाट संकलित आर्थिक सहयोग र श्रमदानबाट सो क्षेत्रको पुनर्निर्माण सम्पन्न भएको पालिकाले जनाएको छ । 

 

मौलिक तथा परम्परागत शैलीबाट सुर्की, चुन, दाची, अपालगायत आकर्षक काष्ठकलाको प्रयोगबाट पुनर्निर्माण भएको हो । उपभोक्ता समिति गठन गरी गत मंसिरबाट सुरु भएको पुनर्निर्माणमा कोरोना महामारीका कारण केही ढिलाइ भएको वडा नम्बर ७ का वडाध्यक्ष उकेश कवांले बताए । 


उनले खोह्र दीप ध्वाखाको पुनर्निर्माणमा स्थानीय नागरिकले सक्दो सहयोग गरेको उल्लेख गरे । ‘हामीले मौलिक शैलीमा यस क्षेत्रको पुनर्निर्माण गरेका छौँ । स्थानीय प्राविधिक, इतिहासविद्सँग समन्वय गरी तिनको सल्लाहअनुरूप कार्य गर्दै आएका छौँ’, उनले भने, ‘यो जिल्लाको तीन नदीको संगम स्थल हो । यहाँको पानी कुनै समय पिउन प्रयोग हुने गरे पनि आजभोलि दूषित भएको छ । यसलाई सरसफाइका लागि प्रयोग गर्न मिल्ने बनाउने योजना छ ।’

 

हाल पुल र प्रवेशद्वारको मात्रै पुनर्निर्माण सकिएको उनले बताए । थप आकर्षक बनाउन पाटी निर्माण, खोलाको सरसफाइलगायत कार्य बाँकी रहेको छ । सो क्षेत्रको पुनर्निर्माणका लागि चाँगुनारायण नगरपालिका, सूर्यविनायक नगरपालिका, मध्यपुर थिमि नगरपालिका र भक्तपुर नगरपालिकाका करिब १ सय ६० वटा गुठीले आर्थिक सहयोग गरेको वडाध्यक्ष कवांले बताए । 


    
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले छिपा ताँ सँगै रहेको उपचार पोखरीलाई पुनर्जीवन दिनुपर्ने र भक्तपुर नगरपालिकाले आफ्ना विकास निर्माणका सम्पूर्ण गतिविधि सफलतापूर्वक उपभोक्ता समितिमार्फत गरिरहेकामा धन्यवाद दिए । 


बिजुक्छेले उपभोक्ता समिति खारेज गर्ने सरकारको निर्णय ठेकेदार पोस्ने र जनताको भावना विपरीत भएको बताए । उनले सुधारिएको शवदाहगृह र विद्युतीय शवदाहगृह निर्माणतर्फ पनि नगरपालिकाले पहल गर्नुपर्नेमा जोड दिए । 

 

भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले उपभोक्ता समितिमार्फत गरिने विकास निर्माणको भौतिक संरचना बलियो हुने, स्थानीयको अपनत्व रहने, स्थानीयले स्वयंसेवी रूपमा श्रमदान गर्ने र कम लागतमा गुणस्तरीय निर्माण कार्य हुने दाबी गरे ।


    
खोह्र दीप ध्वाखा निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष रत्नलाल साँधले ध्वाखाको दायाँ–बायाँ सहायक द्वार र बीचमा मुख्य रहेको खोद्रा दीप ध्वाखा निर्माणका लागि ४९ लाख ९५ हजार ९ सय ७४ रुपैयाँ बढी आर्थिक सहयोग संकलन भएकामा कुल खर्च ४८ लाख ६९ हजार ८ सय ६५ रुपैयाँ लागेको जानकारी दिए । 


छिपा ताँ निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष लक्ष्मी रञ्जितले आयव्यय प्रस्तुत गर्दै पुलको लागत स्टिमेट १ करोड ९८ लाख ४१ हजार २६६.८१ पैसा रहेकामा कुल खर्च १ करोड ७७ लाख ८ हजार ७३० रुपैयाँ लागेको बताइन् ।