close

तातोपानी पालिका उपाध्यक्षका श्रीमान्ले कुटे कर्मचारी 

तातोपानी पालिका उपाध्यक्षका श्रीमान्ले कुटे कर्मचारी 

Trulli
ADVERTISEMENT

जुम्ला– जुम्लाको तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालमाथि कार्यकक्षमै दुव्र्यवहार गरिएको छ । कर्मचारीले दुव्र्यवहार गर्नेमाथि कारबाही माग गर्दै आन्दोलन गरेपछि सेवा प्रवाह प्रभावित भएको हो । 

 

योजनाको भुक्तानी विषयमा विवाद हुँदा तातोपानी गाउँपालिका उपाध्यक्ष गंगादेवी उपाध्यायका श्रीमान् लक्ष्मीप्रसाद उपाध्यायले प्रमुख प्रशासकीय अधिकृत धितालमाथि आक्रमण तथा हातपात गरी दुव्र्यवहार गरेको पालिकाका कर्मचारीले बताएका छन् ।

 

विज्ञप्तिमा भनिएको छ, ‘उपाध्यक्षका श्रीमान् लक्ष्मीप्रसादले योजनाको प्रक्रिया नपुगेको भुक्तानी माग्न खोज्दा सो विषयमा विवाद उत्पन्न गरी प्रमुख प्रशासकीय अधिकृत धितालमाथि आक्रमण गरी हातपात गरेको र उपाध्यक्ष स्वयंले हाल कार्यवाहक अध्यक्ष हुँ । आजैका मितिदेखि कार्यालयमा उपस्थित नहुनू भनी दिएको धम्कीप्रति सम्पूर्ण कर्मचारीबाट  भत्र्सना गर्दछाैँ ।’


कर्मचारीलाई सहज ढंगबाट काम गर्ने वातावरण नभएकाले आउँदो आइतबारदेखि उक्त विषयमाथि छलफल गरी निकास नआएसम्म गाउँपालिका सबै कामकाज ठप्प पार्ने चेतावनी दिइएको छ ।


प्रमुख प्रशासकीय अधिकृत धितालले आफूमाथि उपाध्यक्ष उपाध्याय र उनका श्रीमान् लक्ष्मीप्रसादले हातपात गर्न खाजेको तर कर्मचारी साथीले बचाएको बताए । उनले भने, ‘कोल्डस्टोरको जग्गा सहकारीका नाममा नभएसम्म भुक्तानी दिन मिल्दैन । अहिले मन्जुरीनामा मात्रै छ । प्रक्रिया नपुगेकै कारण भुक्तानी गरेर पनि खाता रोक्का गरिएको हो । मलेप, आलेपले पनि जग्गा सहकारीका नाममा नभएसम्म भुक्तानी नदिन भनेको छ । प्रक्रिया मिलाउनेभन्दा दादागिरी देखाएर उपाध्यक्ष र उनका श्रीमान्ले दुव्र्यवहार गरेका हुन् ।’ 

 

घुस नदिँदा भुक्तानी रोकियो 


उपाध्यक्षका श्रीमान् लक्ष्मीप्रसाद उपाध्यायले भने प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात नगरेको दाबी गरेका छन् । खाता फुकुवा गर्ने विषयमा सामान्य भनाभन भएको तर हातपात भने नगरेको उनको दाबी छ ।


‘काम सम्पन्न भएर सबै प्रक्रिया पूरा गरी भुक्तानी लिनुपर्ने ९ लाख ५० हजार रुपैयाँ खातामा आएको तर खाता रोक्का भएकाले फुकुवा गरिदिन अनुरोध गरेका थियौँ’, लक्ष्मीप्रसादले भने, ‘तर हाकिमले मेरो बैंक खाता किन रोक्का भयो, फुकुवा नहुनुको कारण के हो निवेदन चाहियो । अदालत जान्छु भन्दा पनि निवेदन दिन आलटाल गरे । पछि निवेदनमा काम नभएको, प्रक्रिया नपुगेको भनेर लेखेपछि मैले त्यही निवेदन च्यातेको हुँ ।’


अन्य सोही प्रकृतिका योजना भुक्तानी भइसकेको तर कृषि उत्पादनअन्तर्गतका सामूहिक स्याउ बगैँचा, सामग्री व्यवस्थापन, कोल्डस्टोर निर्माण योजनाको भुक्तानीमा भने आलटाल गरिएपछि विवाद भएको उनले बताए ।  प्रमुख प्रशासकीय अधिकृतले घुस मागेको तर नदिएकै कारण भुक्तानीमा ढिलासुस्ती गरेको लक्ष्मीप्रसादको आरोप छ ।  प्रमुख प्रशासकीय अधिकृत धितालले भने घुस मागेको कुरा झटो भएको दाबी गरे ।


अहिलेसम्म घुस मागेको कुनै प्रमाण भए देखाउनसमेत उनले उपाध्यायलाई चुनौती दिए । प्रक्रिया नमिलाएर ल्याएका काम गर्न नमान्दा विभिन्न आरोप लगाइएको धितालको भनाइ छ । पालिका उपाध्यक्ष गंगादेवीले पनि हातपात गर्न खाजेको र गैरजिम्मेवारी रूपमा बोलेको धितालले बताए ।

 

हाकिमले अपहेलित गरेपछि कठालो समातेकै हुँ : उपाध्यक्ष उपाध्याय


विवादका विषयमा उपाध्यक्ष गंगादेवीले १७ मंसिरमा तातोपानी गाउँपालिकाको कामकाजको सिलसिलामा पालिकाको कार्यालयमा गएको बताइन् । उनले भनिन्, ‘मुख्यमन्त्री कार्यक्रम र सांसद विकास कोषको रकम अनुगमन समितिको रिपोर्टबिनै रकम भुक्तानी गरी उपभोक्ताको खातामा जम्मा गरिएको छ । बैंकलाई चिठ्ठी लेखी खाता बन्द राखेर मलेप आएका बेला जागिरको डरले उपभोक्तालाई फुस्ल्याएर योजनाबाट घटेको पैसा फिर्ता गर्न लगाइयो । पछि उपभोक्ता खाता फुकुवा गरिपाऊँ भनेर पालिकमा आएपछि उपाध्यक्षले अनुगमन रिपोर्ट नदिएको आरोप लगाएर बारम्बार उपभोक्तालाई दुःख दिने काम भयो । झगडाको विषय यही हो ।’


एक वर्षअघि अनुगमन रिपोर्ट दिएको योजना पनि अहिलेसम्म नियतवश प्रमुख प्रशासकीय अधिकृत धिताल, योजना शाखा, लेखा शाखा, प्राविधिक शाखाको मिलेमतोमा योजनाको भुक्तानी नदिएको उनले बताइन् । 

 

योजनाको म्याद थप गर्ने अनि अनुगमनको रिपोर्ट आएको छैन भनेर बारम्बार उपाध्यक्षमाथि आरोप लगाउने काम प्रमुख प्रशासकीय अधिकृतबाट भएको उनको भनाइ छ ।  उनले भनिन्, ‘गिडिखोला खानेपानीको मुहान दर्तै नगरेर सम्झौता गरी पेस्की दिइएको छ । सांसद विकास कोषको कोल्डस्टोरको जग्गा पास खोज्नेले अध्यक्ष कार्यक्रममार्फत बनेको १० लाख रुपैयाँको भवनको जग्गाको मन्जुरीनामा नलिएको सम्झौता छ । त्यसको भुक्तानी कसरी गरियो ?’ 


उपाध्यक्ष उपाध्यायले प्रमुख प्रशासकीय अधिकृतलाई भुक्तानी दिन मिल्ने भए दिनुस्, मिल्दैन भने प्रक्रियामा जान्छु भन्दा उल्टै प्रमुख प्रशासकीय अधिकृतले श्रीमान्को पक्ष लिएर बोलेको भन्दै थर्काएको दाबी गरिन् ।


उनले भनिन्, ‘हाकिमले मलाई अपहेलित गरेको कारण उनको कठालो समातेकी हुँ । मलाई कर्मचारीले अपहेलित गरेर गाउँपालिका कार्यालयमै तथानाम बोलेका हुन् । पालिकाको कामका विषयमा जतिबेला पनि श्रीमान्कै नाम जोडेपछि रिस उठेको हो । अब म पनि अदालत जान्छु’, उपाध्यक्ष उपाध्यायले भनिन् ।