close

नागरिकलाई निर्वाचन प्रक्रिया सिकाउँदै दैलेख प्रशासन

नागरिकलाई निर्वाचन प्रक्रिया सिकाउँदै दैलेख प्रशासन

Trulli
ADVERTISEMENT

दैलेख–आगामी ३० वैशाखमा स्थानीय तह निर्वाचनको मिति तोकिएपछि दैलेख जिल्ला सुरक्षा समितिले नागरिकलाई निर्वाचनप्रति जागरुक बनाउने अभियान थालेको छ ।

 

अभियानअन्तर्गत दैलखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल नेतृत्वको टोलीले भैरवी गाउँपालिकाका विभिन्न स्थानमा पुगेर नागरिकलाई ढुक्कसँग मतदान गर्न र शान्ति–सुरक्षा प्रत्याभूति दिइने बताएको छ ।

 

टोलीले मतदान स्थलको अवस्था, भौतिक संरचना थप गर्नुपर्ने, कार्यसुरक्षा अवस्थालगायत विषयमा अध्यन गरी नागरिकलाई निर्वाचनप्रति जागरुक गराइएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख (डिएसपी) भुवनेश्वरप्रसाद साहले बताए ।

 

उनका अनुसार जिल्लाको शान्ति–सुरक्षामा प्रभाव पार्ने विषय पहिचान गरी आवश्यक रणनीति तयार गर्ने उद्देश्यसहित सुरक्षा समितिको टोलीले गाउँगाउँमा अनुगमन सुरु गरेको हो । अनुगमन गरिएका क्षेत्रका मतदान स्थल सुरक्षाका दृष्टिकोणले सबै सुरक्षित रहेको साहले बताए ।