close

विपन्नलाई नानादेखि छानासम्मको ग्यारेन्टी गर्दै चैनपुर 

विपन्नलाई नानादेखि छानासम्मको ग्यारेन्टी गर्दै चैनपुर 

Trulli
ADVERTISEMENT

संखुवासभा– गरिबी निवारण तीन तहका सरकारको मुख्य लक्ष्यमा पर्छ । स्थानीय सरकारले पनि गरिबी हटाउने योजना बनाएर काम गर्दै आएका छन् । संखुवासभाको चैनपुर नगरपालिकाले गरिबलाई नाना, छाना र खाना मात्र होइन, जीविकोपार्जनमा सहयोग गरिरहेको छ । 


नेपालमा अझै पनि गरिबीको जनसंख्या ठूलो छ । गरिबी हटाउन स्थानीय तहका जनप्रतिनिधिले विभिन्न योजना र कार्यक्रम अघि सारिरहेका छन् । चैनपुर नगरपालिकामा पिछडिएका र गरिबीको रेखामुनि रहेका नागरिक संख्या उल्लेख्य थियो । अभावका कारण खरको छानो फेर्न सकेका थिएनन् । विद्युत्  सेवा प्राप्त गर्न सकेका थिएनन् । तर, अहिले अवस्था फेरिएको छ । नगरपालिकाको वडा नम्बर ९ र १० का सबै घरमा रहेको खरको छानो विस्थापित भएको छ । यसले गरिबीका कारण खरको छाना फेर्न नसकेकालाई ठूलो सहयोग पुगेको चैनपुर नगरपालिका प्रमुख भरतकुमार खत्रीले बताए ।

 

गरिबीकै कारण नगर झलमल्ल हुन सकेको थिएन । गरिबीको समस्या अँध्यारोले प्रतिविम्बित गर्दथ्यो । बिजुलीको मिटर बक्स राख्न लालपुर्जा आवश्यक हुने र जग्गाजमिन नभएकाले बिजुली बाल्न पाएका थिएनन् । नगरले ६० घरधुरीलाई सोलार उपलब्ध गराएपछि अहिले वृद्धवृद्धा पनि उज्यालो देख्न पाउँदा खुसी भएको नगरप्रमुख खत्रीको भनाइ छ ।

 

कम आय भएका परिवार वा समुदाय तथा सीमान्तकृतलाई समावेश गर्ने हिसाबले कार्यक्रम निर्माण गरिएको छ । उपप्रमुख गर्भवती तथा सुत्केरी भेटघाट कार्यक्रम लागू गर्दा विपन्नले स्वास्थ्य संस्थामा गएर सुत्केरी गराउने अवस्था सिर्जना भएको छ । सुत्केरीले पौस्टिक आहार पाएका छन् भने निःशुल्क गर्भजाँच गर्दा आमा र शिशुको स्वास्थ्यमा समस्या निम्तिन पाएको छैन । यीबाहेक विभिन्न समिति निर्माण तथा पदपूर्तिमा पनि समावेशीकरणलाई ध्यान दिने गरिएको नगर उपप्रमुख मोना श्रेष्ठले जानकारी दिइन् ।


नगरपालिकाको कार्यलय नजिकै ज्येष्ठ नागरिक चौतारी निर्माण गरिएको छ । यो ठाउँमा ज्येष्ठ नागरिक भेला हुन्छन् र आफ्ना सुख–दुःख साट्छन् । ९० वर्ष कटेका ज्येष्ठ नागरिकलाई नगरले थप १ हजार रुपैयाँ भत्ता व्यवस्था गरिदिएको छ । भत्ता विभिन्न वडा कार्यालयमार्फत घरघरमै पु¥याउने व्यवस्था मिलाइएको वडा नम्बर ४ का वडाध्यक्ष धनबहादुर तामाङ बताउँछन् ।

 

नगरपालिकाले सञ्चालन गरेका सामाजिक सुरक्षा कार्यक्रमले कमजोर, असहाय र सीमान्तकृतलाई सहज मात्र भएको छैन, सुरक्षा र आत्मसम्मानको प्रत्याभूति दिएको छ । विपन्न वर्गको आर्थिक, सामाजिक विकास, साधन–स्रोत तथा अवसरमा पहुँच नहुँदासम्म गरिबी निवारण हुन सक्दैन । नगरपालिकाले विपन्न नागरिकलाई स्वरोजगार बनाउन आर्थिक सहयोग गरिरहेको छ । निजी, गैरसरकारी क्षेत्र एवं विकास साझेदारसँग सम्झौता गरेर नगरले गरिबी न्यूनीकरणमा चालेको कदमले दिगो विकासका लक्ष्य हासिल गर्न सहयोग पुगेको छ ।