close

विपद् व्यवस्थापनमा नमुना बन्ने लयमा अर्जुनधारा

विपद् व्यवस्थापनमा नमुना बन्ने लयमा अर्जुनधारा

Trulli
ADVERTISEMENT

झापा– प्राकृतिक विपद् पूर्वजानकारी दिएर आउँदैन । त्यसैले यसको नियन्त्रणका लागि पूर्वतयारी र योजना हुनु आवश्यक छ । नागरिकको एक्लो प्रयासले मात्रै विपद् नियन्त्रण सम्भव छैन । स्थानीय, प्रदेश र संघ सरकारका योजना र नीतिहरूमा  समन्वय हुँदा विपद् रोकथाम र नियन्त्रण गर्न सकिन्छ । झापाको अर्जुनधारा नगरपालिकाले पालिकामा हुने विपद् रोक्ने मात्र नभई त्यसबाट जोगिने नीति अवलम्बन गरिरहेको छ । 

 

भौगोलिक अवस्थितिका कारण नेपालमा विपद् व्यवस्थापन चुनौतीपूर्ण बनिरहेको छ । अर्जुनधारा नगरपालिका बाढी तथा डुबान, आगलागीको जोखिममा छ । जंगली हात्तीको आक्रमणले धेरैको अकालमा मृत्यु हुने गरेको छ । त्यसैले नगरपालिकाले विपद्बाट जोगिने उपाय र पूर्वतयारीलाई प्राथमिकता दिएर वडैपिच्छे समिति बनाएर काम गरिरहेको छ । विपद् न्यूनीकरणका घटनाको लगत संकलन, राहत, पुनर्उत्थानजस्ता कार्यमा जनप्रतिनिधिको उपस्थितिले ठूलो अर्थ राख्छ । विरिङ, टाङ्टुङ खोलामा कटानको जोखिम भएकाले तटबन्धलगायतका योजनाअनुसार नगरपालिकाले प्राकृतिक जोखिम न्यूनीकरणमा अग्रसरता देखाउँदै आएको वडा नम्बर ३ का वडाध्यक्ष जीवनकुमार भण्डारी बताउँछन् ।

 

विपद् रोक्न नगरपालिकाले सरोकारवाला व्यक्ति र विपद्बाट प्रभावित नागरिकलाई नै समावेश गरेर समिति बनाएको छ । विपद्मा परी प्रभावित हुन सक्ने तथा भएका समुदायलाई समयमै सुसूचित गर्ने काम भएको छ । विपद् पीडित समुदायलाई तत्काल राहत तथा उद्दार सेवा प्रदान गरिँदै आएको छ । सम्भावित क्षति हुन सक्ने अवस्थाबाट समुदायलाई जोगाउन वडागत समितिले योजना बनाएर काम गरिरहेको नगरपालिका प्रमुख हरिकुमार रानाले जानकारी दिए ।

 

स्वीस विकास नियोग, प्रदेश र स्थानीय सरकारको सहयोग तथा सहकार्यमा नगरपालिकाको वडा नम्बर ११ स्थित देउनियाटोल नजिक एकीकृत विपद् व्यवस्थापनका लागि क्याम्प निर्माण गरिएको छ । दुई बिघा सार्वजनिक जग्गामा निर्माण गरिएको क्याम्प दमकल, शववाहन, एम्बुलेन्स, बाढीपहिरो, आगलागीलगायतका विपद् नियन्त्रणका लागि प्रयोग गर्ने गरिएको छ । यस्तै नगरका युवालाई विपद्को समय उद्दार कसरी गर्ने भन्ने तालिम दिने गरिएको नगरपालिकाको विपद् व्यवस्थापन समिति संयोजक केदारनाथ पराजुलीको भनाइ छ ।


नगरपालिकाको सुखानी शहीद स्मृति पार्कको पोखरीमा समय–समय बाढी तथा उद्दारसम्बन्धी अभ्यास गर्ने गरिएको छ । बर्सेनि कनकाई, मेची, रतुवामाईलगायत नदीका कारण डुबानमा पर्दा राहतस्वरूप आर्थिक सहयोग गर्न कोष निर्माण गरिएको छ । आगलागी हुन नदिन जनचेतनाका कार्यक्रम अघि बढाउँदा अहिले नागरिक तहमा पनि विपद्बाट कसरी जोगिने भन्ने ज्ञान हासिल भएको छ । विपद् निम्तिएपछि पछुताउनुभन्दा हुनै नदिने र भइहाले रोक्न सक्ने गरी अर्जुनधाराले बनाएको नीतिले नागरिकको अकालमा ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य हुने देखिन्छ ।