close

म्याङलुङको युवा लक्षित योजना सफलता नजिक  

म्याङलुङको युवा लक्षित योजना सफलता नजिक  

Trulli
ADVERTISEMENT

तेह्रथुम–देशको समृद्धिमा लागि युवा पुस्ताको योगदान अपरिहार्य मानिन्छ । दिगो विकासका हरेक एजेन्डा युवासँग जोडिनुपर्छ । युवालाई खेलकुद र रोजगारीमा अभ्यस्त बनाउने योजनासहित पाँच वर्षमा तेह्रथुमको म्याङलुङ नगरपालिकाले उल्लेखनीय काम गरेको छ । 

 

मुलुकभर नै अहिले युवा जनशक्तिको खाँचो छ । देश निर्माणमा मात्र नभई समृद्धिको यात्रामा उनीहरू निर्विकल्प छन् । तर, रोजगारी अभावमा कयौँ युवा विदेशिएका छन् । म्याङलुङ नगरपालिकाले भने युवा पुस्ताको प्रतिभा उजागर गर्न खेलकुदमा सहभागी गराउने लक्ष्य राखेको छ । 

 

खेलकुदमा युवाको ध्यान केन्द्रित गर्न नगरपालिकाले खेलका विभिन्न सामग्री वितरण गर्दै आएको छ । सबै वडामा फुटबल तथा भलिबल र अन्य खेलको प्रवद्र्धन गर्ने काम भएको छ । २ नम्बर वडामा प्याराफिटसहितको फुटबल मैदान निर्माण गरिएको छ ।

 

हरेक वडा कार्यालयले पनि खेलकुद विकासका लागि काम गरिरहेका छन् । स्थानीय खेलाडीलाई प्रोत्साहन गर्ने तथा खेल मैदान निर्माण गर्ने काम चलिरहेको वडा नम्बर ६ का वडाध्यक्ष इन्द्रकुमार लिम्बूले बताए ।

 

कोरोना महामारीपछि धेरै युवा वैदेशिक रोजगारीबाट फर्किएका छन् । उनीहरूलाई नगरपालिकाले कृषिमा सहभागी गराउने जमर्को गरेको छ । युवालाई कृषक समुह बनाउन लगाउने, आर्थिक अनुदान तथा कृषि सामग्री तथा बिउविजन सहयोग गर्ने काम जनप्रतिनिधिबाट भएको छ । अहिले कृषिमा आकर्षित युवाले बाँझा जग्गामा आफ्नो क्षमता र सीप प्रयोग गरिरहेको नगरपालिकाको सामाजिक विकास शाखाका अधिकृत जगदीश सुवेदीको भनाइ छ ।

 

युवालाई स्वरोजगार बनाउन नगरपालिकाले विभिन्न तालिम दिँदै आएको छ । वार्षिक ३ सय जनालाई प्लम्बिङ, फर्निचर, इलेक्ट्रिसियन, सिलाइ–बुनाइ, ब्युटिपार्लर र कृषिसम्बन्धी तालिम दिन थालिएको छ । ५० प्रतिशत लागत साझेदारीमा आवश्यक उपकरण वितरण व्यवस्था गरिएको म्याङलुङ नगरप्रमुख  सञ्जयकुमार तुम्बाहाङफेले जानकारी दिए ।

 

अहिले युवा टोल विकास समितिमार्फत यस्तो अनुदान र सहयोग रकमको सदुपयोग भइरहेको छ । नगरपालिकामा दर्ता भएका समूहलाई आयमूलक तथा सिर्जनात्मक काममा प्रोत्साहन गरिएको छ । यसका लागि नगरपालिकाले कार्यविधि नै तयार गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत पनि बेरोजगार तथा आर्थिक अवस्था कमजोर भएकालाई रोजगार दिइँदै आएको नगरपालिकाका प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक नवीन खतिवडाले बताए ।

 

युवाको प्रत्यक्ष सहभागिताबिना विकास र आर्थिक समृद्धि असम्भव छ । कामको खोजीमा विदेशिने युवालाई स्वदेशमै रोजगारी र आर्यआर्जनको अवसरले मात्र देश समृद्ध हुन सक्छ । युवा पुस्तालाई खेलकुददेखि आर्यआर्जन हुने पेसामा जोड्ने म्याङलुङ नगरपालिका प्रयास प्रशंसनीय छ ।