close

युवा केन्द्रित नीति पछ्याउँदै इलाम

युवा केन्द्रित नीति पछ्याउँदै इलाम

Trulli
ADVERTISEMENT

इलाम–कुनै पनि समाज तथा राज्यको आर्थिक, सामाजिक विकासका निम्ति युवा सहभागिता अपरिहार्य हुन्छ । युवा सहभागिताबिना विकास निर्माण र सरकारले निर्धारण गरेको लक्ष्य भेट्याउन सकिँदैन । त्यसैले अहिले स्थानीय सरकारहरू युवा केन्द्रित नीति बनाइरहेका छन् । इलामको इलाम नगरपालिकाले पनि युवाको  ज्ञान, क्षमता उजागर गर्न युवा केन्द्रित नीति लागू गरिरहेको छ ।

 

खेलकुदले स्वस्थ तथा अनुशासित नागरिक बनाउन मद्दत गर्छ । देशलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन पनि खेलकुदको योगदान महत्वपूर्ण हुन्छ । यही तथ्यलाई आधार मान्दै इलाम नगरपालिकाले पनि युवालाई खेलकुदमा आकर्षित गरिरहेको
छ । 

 

विगत पाँच वर्षमा नगरपालिकाले आवश्यक खेल पूर्वाधार निर्माण गरेर खेलकुदप्रति युवाको ध्यान तान्न सफल भएको छ । नगरपालिकाले २०७४ मा नगर खेलकुद प्रतिष्ठान सञ्चालन निर्देशिका र युवा परिषद् सञ्चालन कार्यविधि बनाएर युवा र खेलकुदलाई एकअर्काको परिपूरकका रूपमा स्थापित गरिदियो ।

 

नगरपालिकाको मुख्य बजारमै कभर्ड हल निर्माण गर्ने र खेलकुद प्रतिष्ठानबाट युवा खेलाडीलाई प्रशिक्षण दिएर राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सक्ने क्षमता विकास भएको इलाम नगरप्रमुख महेश बस्नेत बताउँछन् ।

 

नगरपालिकाले वडा नम्बर ७ मा साढे चार करोड रुपैयाँको लगानीमा युवा र बालबालिकाका लागि फनपार्कसमेत निर्माण गरेको छ । नगर विकास कोषको ३ करोड ३५ लाख ३० हजार ऋण र नगरपालिकाको १ करोड २२ लाख रुपैयाँ लागतमा फनपार्क निर्माण गरिएको छ । यो पार्क पाँच वर्षसम्म नगरपालिकाले नै सञ्चालन गर्दा मनोरञ्जनात्मक गन्तव्य बन्न पुगेको चिल्ड्रेन फन पार्क निर्माण व्यवसायी सुभाषलाल चिपालुको भनाइ छ ।

 

खेलकुद विषयलाई पाठ्यपुस्तकमा समावेश गरी माध्यमिक तहको खेलकुद विद्यालय स्थापना गर्ने गुरुयोजना बनाएर नगरपालिका अघि बढेको छ । खेलकुद विकासका लागि आवश्यक रंगशाला र खेलमैदान तयार गरिएको छ भने माईभगवती रंगशाला निर्माणलाई तीव्रता दिइएको छ । 

 

अहिले नगरमा खेलकुद क्षेत्र व्यावसायिक दिशातिर अगाडि बढेको छ । स्थानीय सरकारले युवा लक्षित नीति, नियम, योजना निर्माणका साथै युवालाई सबल, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउने योजना तथा कार्यक्रमले पाँच वर्षमा इलाम नगरपालिकाका युवा खेल क्षेत्रप्रति आकर्षित हुँदै गएका छन् ।