close

काठमाडौंबाट १६ जना पक्राउ: कतै नक्कली बम, कतै आगजनी र तोडफोड

काठमाडौंबाट १६ जना पक्राउ: कतै नक्कली बम, कतै आगजनी र तोडफोड

Trulli
ADVERTISEMENT

काठमाडौं । चार कम्युनिष्ट पार्टीको संयुक्त मोर्चाले आवह्रान गरेको बन्दको प्रभाव उपत्यकामा सामान्य देखिएको छ ।

उपत्यकामा बिहानैदेखि नीजि तथा सार्वजनिक यातायात सञ्चालन भइरहेका छन् । पसलहरु पनि बिहानैदेखि खुलेका छन् ।

कोटेश्वरमा तोडफोड

बन्दको अवज्ञा गरेको भन्दै कोटेश्वरमा महानगर यातायातको बसमा बन्दकर्ताले ढुंगा हानेर तोडफोड गरेका छन् । महानगर यातायातको बा ४ च ९३९४ नम्बरको बसमा बन्दकर्ताले ढुंगा हानेका हुन् । 

कोटेश्वरबाट बालकुमारीतर्फ जाँदै गरेको बसमा एक समूहले राष्ट्रिय वाणिज्य बैंकअगाडि एक्कासि ढुंगा हानेर भागेको प्रहरीले जनाएको छ । 

थापागाउँमा बस तोडफोड

बानेश्वर थापागाउँमा पनि बन्दकर्ताले नेपाल यातायातको बसमा ढुंगा हानेर सिसा फुटाएका छन् । 

बिहान ७ बजे थापागाँउको पाठशाला स्कुल नजिक नेपाल यातायात बा ४ ख ९०१९ नम्बरका गाडी तोडफोड भएको हो । बन्दको अवज्ञा गरेको भन्दै अज्ञात समूहले बस तोडफोड गरेर भागेको प्रहरीले बताएको छ ।

काठमाडौंका मुख्य चोकहरुमा प्रहरी खटिएका छन् । अहिले उपत्यकाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

१६ जना पक्राउ

काठमाडौंमा बन्द गराउँदै हिँडेका १६ जना बन्दकर्ता पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरका अनुसार उनीहरूलाई उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो ।

बन्दकर्ताले कोटेश्वरमा महासागर यातायात, थापागाउँमा नेपाल यातायात गाडी तोडफोड गरेका छन् । यस्तै डिल्लीबजारको सफ्टवारिका कलेज पनि तोडफोड भएको तोडफोड भएको छ ।

धुलिखेलमा नक्कली बम

बीपी राजमार्ग अन्तर्गत धुलिखेल–९ मा भेटिएको नक्कली बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । धुलिखेल–९ मा राखिएको होक्स नेपाली सेनाको कालीजंग गण धुलिखेलका सेनाले डिस्पोज गरेका हुन् । 

राजमार्गमा प्रेसर कुकर भेटिएपछि केहीबेर यातायात ठप्प भएको थियो ।

बनेपामा तनाव

काभ्रेको बनेपास्थित चारदोबाटोमा नेपाल प्रहरी र बन्दकर्ताबीच घम्साघम्सी भएको छ । 

बन्द गराउन सडकमा निस्किएका बन्दकर्ता र प्रहरीबीच घम्साघम्सी भएपछि केहीबेर त्यस क्षेत्र तनावग्रस्त बनेको थियो । प्रहरीले केही बन्दकर्तालाई पक्राउ गरेको छ।

दाङमा टिपरमा आगजनी

घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा१ख १६९४ नम्बरको टिपरमा बिहान ४ बजेतिर बबई खोलाको पुल नजिक आगजनी भएको छ ।

टिपर चालकले बिहान चार-पाँच जनाको समूहले आगजनी गरि भागेको बताएका छन् ।आगजनीका कारण टिपरको अघिल्लो भाग जलेर नष्ट भएको छ । टिपरमा आगो बन्दकर्ताले लगाएको हो वा अरु कसैले लगाएको भन्नेबारे  अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

बैतडीका दुई ठाउँमा शंकास्पद वस्तु

बैतडीका दुई ठाउँमा शंकास्पद वस्तु फेला परेको छ । सतबाँझ क्षेत्रमा सडकमा राखिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले बताए । 

सतबाँझको भण्डारी आयलस्टोर नजिकै सडक किनारमा प्रेसर कुकरमा तार बेरिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको छ। 

यस्तै, सतबाँझ–गोकुलेश्वर सडकखण्डको बीचमा पनि शंकास्पद वस्तु भेटिएको छ । नेपाली सेनाको हनुमानध्वज गुल्मबाट बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ ।

कैलालीका दुई ठाउँमा शंकास्पद वस्तु

गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड र पूर्वपश्चिम राजमार्ग अन्तर्गत हरैया शिविर नजिकै शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

अत्तरियामा कपडामा बेरेको अवस्थामा र हरैयामा प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

बन्द किन ?

सरकारले गरेको एमसीसी सम्झौता, नेपाल कम्युनिष्ट पार्टीसँग भएको तीन बुँदे सहमतिको उलङ्घन, नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव लगायतका नेता कार्यकर्ताहरु विरुद्ध जारी गरेको पक्राउ पुर्जी, महङ्गी र भष्टाचारकोविरुद्ध नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुति नेतृृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीले बन्दको आवह्रान गरेको हो ।

साथै उनीहरुले राज्यको रवैयाको कडा रुपले निन्दा गर्दै यथासिघ्र एमसीसी र एसपिपि, पक्राउ पुर्जी र झुट्ठा मुद्दाको खारेजी, संपूर्ण बन्दीको रिहाई र आकासिँदो महङ्गी नियन्त्रण गर्न माग गरेको छ ।