close

नदी किनारका बस्तीले हेरिरहेछ- चुनाव, नेता र बाचा

‘हामीलाई हटाएर अर्पाटमेन्ट, कहाँ कहाँ राख्ने रे । हामीलाई केही चाहिँदैन । हामीले शृङ्गारेको ठाउँमा बस्न दिए पुग्छ,’ उनले पालिका खबरसँग भनिन् ।

नदी किनारका बस्तीले हेरिरहेछ- चुनाव, नेता र बाचा

‘हामीलाई हटाएर अर्पाटमेन्ट, कहाँ कहाँ राख्ने रे । हामीलाई केही चाहिँदैन । हामीले शृङ्गारेको ठाउँमा बस्न दिए पुग्छ,’ उनले पालिका खबरसँग भनिन् ।

Trulli
ADVERTISEMENT

काठमाडौं । कान्छीमाया तामाङले ६१औँ बसन्त पार गरिन् । उनी अझै पनि मजदुरी गरेरै जीविकोपार्जन गर्छिन् । तर, पनि उनले अनुहारमा अलिकति पनि पीडा देखाउँदिनन् । 

एक छोरा र एक छोरीकी आमा उनी अझै पनि परिवारको जिम्मेवारी सम्हाँल्दैछिन् । भन्छिन्, ‘दुखीको जीवन यस्तै हो । उमेर ढल्केर गए पनि दशनंग्रा खियाएरै बाँच्नुपर्छ ।’ बुढौलीमा श्रम गरेको भन्दा पनि सरकारले बस्ती छोडेर जानू भन्ने तीता वचनले आफूलाई पीडा दिने उनी बताउँछिन् ।  

विगत १७ वर्षदेखि बागमती किनारको थापाथली सुकुम्वासीमा टहरा बनाएर बस्दै आएकी छन् । ‘सानो उमेरमै विवाह भयो । बाल्यकालमै परिवारको जिम्मेवारी सम्हाल्नुपर्‍यो र दुई सन्तानको आमा भएँ,’ उनले भनिन् । 

श्रीमानले दोस्रो विवाह गरे । तर, उनले दुई सन्तानको जिम्मेवारी सम्हालेर बस्ने निधो गरिन् ।  परिवारबाट हुने गरेको हिंसा सहन नसकेपछि घरबाट भागिन् । ‘दुःखै गरेर भए पनि दुई सन्तान पाल्ने आँट थियो । सुरुमा मजदुरी गरेरै कोठा भाडामा लिएर बसेँ । तर पछि भाडा तिर्न कठिन भयो,’ उनले भनिन् । 

भाडा तिर्न नसकेपछि दुई सन्तानसहित कोठा छाडेको उनले बताइन् । ‘केही दिन पाटी र सडकमा बस्यौँ । तर समस्या हुँदो रहेछ,’ उनले भनिन् । पाटीमा बस्दा केहीले सुकुम्वासी बस्तीमा बस्न सल्लाह दिएपछि आफूहरू सो क्षेत्रमा आश्रय लिन पुगेको उनले सुनाइन् । ‘तर यहाँ पनि बस्न कहाँ सजिलो छ । कुन बेला डोजर ल्याएर लखेट्ने हो टुंगै छैन,’ उनले भनिन् ।  

बस्नको लागि कुनै विकल्प नभएर सुकुम्वासी बस्तीमा पुगे पनि कहिले बस्तीबाट लखेट्ने हो भन्ने चिन्ता व्यक्त गरिन् । ‘हामी कहाँ बस्न जानु ? यही बसेर दुई सन्तान हुर्काएँ,’ भावुक हुँदै उनले भनिन् । 

दुःखको समयमा सोही क्षेत्रले बस्ने ओत दिएकोले अहिले पनि सुकुम्वासी क्षेत्र प्यारो लाग्ने उनी बताउँछिन् । ‘हामीलाई हटाएर अर्पाटमेन्ट, कहाँ कहाँ राख्ने रे । हामीलाई केही चाहिँदैन । हामीले शृङ्गारेको ठाउँमा बस्न दिए पुग्छ,’ उनले पालिका खबरसँग भनिन् ।

उमेरले ४ दशक टेकेकी रामदेवी तामाङ सुकुम्वासी भएकै कारणले सरकारले दोस्रो दर्जाको नागरिकको रूपमा लिने गरेको बताइन् । लामो समयदेखि बागमती किनारमा अस्थायी टहरा बनाएर उनी बस्दै आएकी छन् । दुःख गरेर अस्थायी टहरा बनाएर आफूहरू बस्दै आएको उनले सुनाइन् । 

                तर महानगरले जति सूचना जारी गरे पनि आफूहरू नमान्ने सुकुम्वासी बस्तीका वरिष्ठ सल्लाहकार चन्द्रबहादुर लामाले बताए । उनले आफूहरू सोही क्षेत्रमा लामो समयदेखि बस्दै आएकोले सो क्षेत्र छाडेर कतै नजाने बताए ।         

तर, काठमाडौं महानगरपालिकाले पटक-पटक सुकुम्वासी हटाउने सूचना जारी गर्दै आएकोमा उनले दुखेसो पोखिन् । ‘चुनाव आउँदा विभिन्न सपना देखाएर भोट माग्न आउनुहुन्छ । अनि जितेर गएपछि लखेट्न खोज्छन्,’ उनी भन्छिन्, ‘जितेर आएपछि हामीलाई किन दोस्रो दर्जाको व्यवहार गर्छन् ?’ 

सरकारले आफूहरूलाई गर्ने व्यवहारले राज्य भएको आवास नभएको उनीहरू बताउँछन् । सरकारको लागि आवश्यक परे मात्रै आफ्नो नागरिक ठान्ने गरेको उनले सुनाइन् । ‘चुनावमा उहाँहरू हाम्रो बस्तीमा भोट माग्नु हुन्छ । मिठामिठा सपना देखाउनु हुन्छ,’ उनले भनिन्, ‘तर निर्वाचित भएपछि दोस्रो नागरिकको दर्जा दिनुहुन्छ ।’ 

उता, काठमाडौं महानगरपालिका सरकारी तथा सार्वजनिक जग्गाको संरक्षणको लागि सुकुम्वासी बस्तीलाई व्यवस्थापन गर्न लागेको बताएको छ । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार विगतका जनप्रतिनिधिले नै सार्वजनिक जग्गाको संरक्षण गर्ने नीति लिएको र सोही अनुरूप पटक-पटक सूचना जारी गर्दै आएको हो । 

‘भूमिहीन वा सुकुम्वासी भएका नाउँमा सरकारी जग्गाको अतिक्रमण गर्न पाइँदैन । तर उहाँहरूले खोला किनारका सरकारी जग्गा अतिक्रमण गरेर बस्नु भएको छ,’ उनले भने । 

सुकुम्वासीलाई छोटो समय मात्रै महानगरपालिकाले आश्रय दिन सक्ने प्रवक्ता मानन्धरले पालिका खबरलाई बताए । ‘उहाँहरूले वर्षौदेखि सरकारी जग्गा अतिक्रमण गरी बस्नु भएको छ,’ उनले भने, ‘उहाँहरूलाई छोटो समयमा मात्रै आश्रय दिन सकिन्छ । तर स्थायी भवन बनाएर राख्न सकिँदैन ।’ 

‘यो त उहाँहरू आफैले सोच्नु पर्ने हो । केही समयपछि आफ्नो व्यवस्थापन आफैँले गर्नुपर्ने हो । तर उहाँहरू स्थायी बासिन्दाजस्तो गर्नुहुन्छ,’ उनले भने । 

तर महानगरले जति सूचना जारी गरे पनि आफूहरू नमान्ने सुकुम्वासी बस्तीका वरिष्ठ सल्लाहकार चन्द्रबहादुर लामाले बताए । उनले आफूहरू सोही क्षेत्रमा लामो समयदेखि बस्दै आएकोले सो क्षेत्र छाडेर कतै नजाने बताए । 

सहरका धनी व्यक्तिले गर्ने गल्तीको सजाय सुकुम्वासीलाई दिने गरेको आरोप उनको छ । ‘कहिले खोलामा फोहोर गरेको नाउँमा त कहिले सडक मापदण्डको नाउँमा हामीलाई हटाउन खोजेको छ,’ उनले भने, ‘न त हामीले खोला फोहोर नै गरेका छौँ न त सडक मिचेका नै छौँ ।’ 

सडक र खोलाको मापदण्ड अनुसार टहरा बनाएर आफूहरू बस्दै आएको उनले बताए । तर पनि सरकारले विभिन्न बहाना बनाएर सुकुम्वासीलाई उठाउन खोजेको आरोप उनको छ ।