close

माथिको निर्देशन छैन भन्दै दोद्रे जाँदैनन् प्राधिकरणका कर्मचारी

माथिको निर्देशन छैन भन्दै दोद्रे जाँदैनन् प्राधिकरणका कर्मचारी

Trulli
ADVERTISEMENT

अर्घाखाँची- शितगङ्गा नगरपालिका-८ दोद्रेमा करिब एक वर्षयता नेपाल विद्युत प्राधिकरणका कर्मचारी नपुग्दा दोद्रेवासीले बिजुलीको बिल तिर्न पाएका छैनन् । 

शितगङ्गा नगरपालिका-८ सातमाराका स्थानीय प्रेम खनालका अनुसार लाहाते र सातमारामा पनि नियमित मिटर रिडिङ गर्ने कर्मचारी आउँदैनन् । मिटर रिडिङ गर्ने मान्छे नआएपछि समयमा बिजुलीको बिल नतिरेको भन्दै हर्जना तिर्नुपर्ने त्रासमा स्थानीय छन् । 

शितगङ्गा नगरपालिका-८ वडाध्यक्ष रुक बहादुर आलेले पालिकाखबरलाई जानकारी दिएअनुसार दोद्रेमा भएका ४० घरले एक वर्षदेखि बिजुलीको बिल तिर्न पाएका छैनन् । प्राधिकरणले मिटर हेरेर चढेको युनिट विवरणनै संकलन नगरेपछि प्राधिकरणको अर्घाखाँची वितरण केन्द्रमा दोद्रेवासीको बक्यौता नै नदेखिएको वडाध्यक्ष आलेको भनाइ छ । उनले भने, ‘खै कर्मचारीले नभ्याएको हो कि ? मन नभएको हो, हामीले आग्रह गर्दा माथिको निर्देशन छैन भन्दै पन्छिन्छन् ।’

भौगोलिक विकटता र कर्मचारी अभावका कारण समयमा मिटर रिडिङ गर्न नसकिएको नेपाल विद्युत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रका प्रमुख  त्रिलोचन भट्टराई स्वीकार्छन् । तर मिटर रिडिङ नै नगरी हर्जना तिराउने गरिएको छैन । उनले भने,‘यदि मासिक ३० रुपैयाँ तिर्ने ग्राहकको घरमा हाम्रो कर्मचारी ४ महिनासम्म गएनन् तर पाँचौं महिना मिटर रिडिङ भएको छ भने ग्राहकले १५० रुपैयाँमात्र तिर्नुपर्छ ।’

उनका अनुसार मिटर रिडिङ भएपछि भने हर्जनाको व्यवस्था गरिएको छ । २१ दिन नाघेमा १० प्रतिशत र ४५ दिन नाघेमा २५ प्रतिशत हर्जना तिर्नुपर्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणको अर्घाखाँची वितरण केन्द्रमा ३८ हजारभन्दा बढी ग्राहक भए पनि ९ जनामात्र मिटिर रिडिङ गर्ने कर्मचारी हुँदा समस्या भएको प्राधिकरणले जनाएको छ ।