close

कार्य सम्पादनमा सन्धिखर्क प्रथम, भरतपुर दोस्रो र मालिका तेस्रो

कार्य सम्पादनमा सन्धिखर्क प्रथम, भरतपुर दोस्रो र मालिका तेस्रो

Trulli
ADVERTISEMENT

अर्घाखाँची- कार्यसम्पादन मूल्याङ्कनमा सन्धिखर्क नगरपालिका देशभरकै प्रथम बनेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादन मूल्याङ्कनमा सन्धिखर्क प्रथम भएको हो ।

देशभरका ७५३ स्थानीय तहमध्ये सन्धिखर्कले ६१.८१ अङ्क प्राप्त गरी पहिलो भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए । 

स्थानीय तहलाई सङ्घीय सञ्चित कोष तथा प्रदेश सञ्चित कोषबाट प्रदान गर्ने वित्तीय समानीकरण अुनदानअन्तर्गत कार्यसम्पादन मूल्याङ्कनका आधारमा अनुदान सिफारिसका लागि आयोगले कार्यसम्पादन मूल्याङ्कन गर्ने गर्दछ ।

कार्यसम्पादन मूल्याङ्कन गर्दा आयोगले स्थानीय तहसँग तथ्याङ्कहरू मागेर त्यसको आधारमा र उपलब्ध तथ्य सही वा गलत भएको प्रामाणित गरेर सोही आधारमा अङ्क प्रदान गरिन्छ । गत आर्थिक वर्षमा सन्धिखर्क नगरपालिका देशभरमै आठौँ स्थानमा पर्न सफल भएको थियो ।

चितवनको भरतपुर महानगरपालिका ५६.२९ अङ्कसहित दोस्रो र गुल्मीको मालिका गाउँपालिका ५५.४० अङ्कसहित तेस्रो भएका छन् । त्यस्तै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ५३.८४ अङ्कसहित चौथो, सिन्धुपाल्चोककै भोटेकोशी गाउँपालिका ५३.७६ अङ्कसहित पाँचौँ, गुल्मीको चन्द्रकोट गाउँपालिका ५२.५७ अङ्कसहित छैटौँ, अर्घाखाँचीको छत्रदेव गाउँपालिका ५०.४४ अङ्कसहित सातौँ, गुल्मीको रेसुङ्गा नगरपालिका ५०.०३ अङ्कसहित आठौँ, सिन्धुपाल्चोककै पाँचपोखरी थाङ्पाल गाउँपालिका ४९.३६ अङ्कसहित नवौँ र प्युठानको सरुमारानी गाउँपालिका ४९.१९ अङ्कसहित १०औँ भएका छन् । 

प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि २०७८ को दफा ७ अनुसार कार्यसम्पादन मूल्याङ्कन गरी अङ्क प्रदान गरिएको हो ।