close

कृषि र पशुपालन व्यवसायमा आत्मनिर्भर बन्दै पाल्पाका किसान

कृषि र पशुपालन व्यवसायमा आत्मनिर्भर बन्दै पाल्पाका किसान

Trulli
ADVERTISEMENT

पाल्पा - पाल्पाका स्थानीय सरकारले कृषि र पशुपालन व्यवसायमा आत्मनिर्भर बनाई गाउँमा स्वरोजगार सिर्जना गर्न किसान प्रोत्साहन कार्यक्रम ल्याएका छन् ।

 

जिल्लाका १० वटै पालिकाहरूले कृषि पेसालाई व्यवसायिक बनाउन उत्पादनमा अनुदान दिन थालेका हुन् । पालिकाहरूले दुध, मासु, अन्डा, सुन्तला, तरकारी, लोपन्मुख खेती कोदो र फापरजस्ता कृषि उपजमा उत्पादनअनुसार अनुदान रकम दिएका छन् । 


रिब्दीकोट, रम्भा, बगनासकाली गाउँपालिका र तानसेन नगरपालिकाले तरकारी, दूध र सुन्तला उत्पादनमा अनुदान दिएको छ । तरकारीमा प्रतिकिलो २ रुपैयाँ ढुवानी अनुदान बगनासकालीले १ सय २० किसानलाई दिएको छ । बगनासकालीबाट गत आर्थिक वर्ष ३ करोड बराबरको तरकारी बिक्री भएको थियो ।

 

रिब्दीकोट गाउँपालिकाले गोलभेडामा प्रतिकेजी २ रुपैयाँ ५० पैसा, दूधमा प्रतिलिटर २ रुपैयाँ र सुन्तलामा प्रतिकेजी २ रुपैयाँ अनुदान दिएको छ । ७ सहकारीमार्फत किसानले उत्पादन गरेका वस्तुको विवरण राख्ने र अनुदानमा सिफारिस गर्ने व्यवस्था छ । 

 

गत वर्ष १ सय ३० किसान लाभान्वित भएकामा यस वर्ष २ सय ५० किसानले फाइदा लिन सक्नेछन् । पालिकाले चालू आर्थिक वर्षको ३ महिनामा ६४ हजार ५ सय लिटर दूध र ५७ हजार ६ सय किलो गोलभेडामा अनुदान दिएको गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले बताए । 


रम्भा गाउँपालिकाले युवाहरूलाई स्वरोजगार बनाउन र कृषि उत्पादन वृद्धि गर्न गत बर्ष देखि अनुदान दिएको छ । किसानले १ सय किलोभन्दा बढी जिउँदो खसी र कुखुरा बिक्री गरे प्रतिकेजी ५०, ६० लिटरभन्दा बढी दूध बिक्री गरे प्रतिलिटर १० रुपैयाँ, स्थानीय कुखुराको २ हजारभन्दा बढी अन्डा बिक्री गरे प्रतिअन्डा २ रुपैयाँ अनुदान दिनेछ । 

 

उत्पादित वस्तु सहकारीमार्फत बिक्री गर्ने र सहकारीले विवरण राखेर अनुदान दिन गाउँपालिकालाई सिफारिस गर्नेछ । यसका लागि पालिकाले ६ वटा सहकारीसँग सम्झौता गरेको छ ।गत वर्ष १ सय २० किसानले अनुदान पाएका थिए ।  यस वर्ष ४ सय बढी किसानलाई लाभान्वित बनाउने पालिकाको लक्ष्य छ । 


कोरोना कहरले वैदेशिक रोजगारीबाट फर्किएर कृषि र पशुपालन व्यवसाय गर्न उत्साहित युवाहरूलाई उत्पादन अनुदानले राहत पुगेको रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए । उनले भने, ‘व्यावसायिकता वृद्धि गर्न कृषि र पशु उत्पादनमा अनुदान कार्यक्रम ल्याएका हौं ।’  

 

स्थानीय सरकारहरूले कृषि उपकरण, बिउबिजनमा अनुदान, बिनाधितो सहुलियत ऋण प्रवाहजस्ता कार्यक्रम ल्याएकाले कृषि र पशुपालन व्यवसाय फस्टाउने भण्डारीको अनुमान छ ।