close

पाँचखालमा चक्लाबन्दी तरकारी खेती हुँदै

पाँचखालमा चक्लाबन्दी तरकारी खेती हुँदै

Trulli
ADVERTISEMENT

काभ्रे- ‘कृषि शहर पाँचखाल नगर’को नारालाई आत्मसात गर्दै पाँचखालमा आधुनिक तरिकाले खेती गरिने भएको छ । चक्लाबन्दी रूपमा खेती गरेर कृषकलाई धनी बनाउने कार्यक्रममा पाँचखाल नगरपालिका र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (सुपरजोन)बीच सम्झौता भएको छ । 


पाँचखाल नगरपालिका प्रमुख महेश खरेल, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (सुपरजोन) कार्यालय प्रमुख प्रकाश पौडेल, सुपरजोन जिल्ला अध्यक्ष एवं पाँचखाल नगरपािलका वडा- २ का वडा अध्यक्ष हरिराम खतिवडा, पाँचखाल कृषि शाखा प्रमुख ईश्वर अधिकारीलगायतको उपस्थितिमा पाँचखालमा ‘चक्लाबन्दी’ रूपमा खेती गराएर कृषकलाई आत्मनिर्भर बनाउने विषयमा सम्झौता भएको हो ।


पहिलो चरणमा पाँचखालका दुई ठाउँमा चक्लाबन्दीअनुसार खेती हुनेछ । त्यसका लागि जग्गा सुधार, सिँचाइ, कृषि उपकरणका साथै गुणस्तरीय बिउबीजन नगरपालिका, सुपरजोन तथा कृषकबीच त्रिपक्षीय रूपमा लगानी गराइने पाँचखाल नगरप्रमुख खरेलले जानकारी दिए ।


पाँचखाल नगरपालिका, सुपरजोन परियोजना र कृषकसमेतले लगानी गरी २०० रोपनीका दुई स्थानमा खेती गराइने उनले बताए ।


‘परम्परागत तरिकाले खेती गर्दा आम्दानी कम, खर्च बढी हुने भएकाले कृषकहरू चिन्तित छन् । अब आधुनिक ढंगबाट यान्त्रिक कृषि औजारका माध्यमबाट खेती गराउन पाँचखालले कृषक हितका लागि अन्यत्रको बजेट काटेरै भए पनि सहलगानी गर्छौं’, खरेलले भने । 


काभ्रे सुपरजोनका अध्यक्ष एवं पाँचखाल वडा- २ का वडा अध्यक्ष हरिराम खतिवडाले कृषिका लागि उर्बर भूमि पाँचखालमा कृषकको उत्पादनले बजार पाउने गरी कार्यक्रम सुरु भएको बताए ।