close

सप्तरीको तिलाठी कोइलाडीमा किसानको जमघट 

सप्तरीको तिलाठी कोइलाडीमा किसानको जमघट 

Trulli
ADVERTISEMENT

सप्तरी- सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले परम्परागत कृषि प्रणालीमा सुधार गरी उत्पादन बढाउन किसान भेला सञ्चालन गरेको छ । 


स्थानीय किसानको अन्नबाली उत्पादन बढाउन नयाँ प्रविधि तथा सीपबारे जानकारी गराउने उद्देश्यले भेला आयोजना गरिएको गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले जानकारी दिए । उक्त भेला गाउँपालिका वडा- ४ कोइलाडीबाट सुरु भएको छ ।


गाउँपालिकाले पशुपालकका लागि सहकारी संस्थामार्फत विनाब्याजको ५० प्रतिशत ऋण दिने नीति ल्याएकाले किसानलाई सहज हुने अध्यक्ष सिंह बताउँछन् ।


‘गाउँपालिकाले गहुँ, धान, मकै तथा सर्सौंको खेती प्रोत्साहन गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा बिउ उपलब्ध गराउने कार्यक्रम ल्याएको छ । किसानलाई आत्मनिर्भर बनाउने लक्ष्य राखेका छौँ’, सिंहले भने ।


कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार झाले किसानलाई सुविधा दिन पालिकाले विभिन्न कार्यक्रम ल्याएको हुँदा उत्पादन बढाउन व्यावसायिक खेती प्रणालीमा जानुपर्ने बताए ।


कृषि ज्ञान केन्द्र राजविराजका बाली संरक्षण अधिकृत सुब्बालाल मण्डलले किसानलाई कृषि प्राविधिकको सल्लाहमा मात्र बिषादी प्रयोग गर्न सुझाव दिए । ‘किसानले आफ्ना उत्पादनमा विनाजानकारी बिषादी प्रयोग गर्दा मित्र किराहरू समेत मर्ने गर्छन् । यसबाट उनीहरूलाई नै घाटा हुन्छ’, उनले भने ।


माटो तथा मल परीक्षण प्रयोगशाला कार्यालय राजविराजका प्रमुख सुनिलकुमार सिंहले खेतीका लागि माटो जाँच निःशुल्क रहेकाले त्यसको लाभ लिन किसानलाई आग्रह गरे ।


समयमा मल नपाउनु, बालीमा किरा लाग्ने गरेको, माटो परीक्षण विधिलगायतका समस्या सुनाउने किसान बढी रहेको गाउँपालिकाका कृषि विकास अधिकृत उदयकान्त झाको भनाइ छ ।  


कोइलाडीबाट सुरु किसान भेला आठवटै वडामा सञ्चालन गरिनेछ । वडा- ७ को मन्सापुर, वडा- ५ को बर्साइन र वडा- ८ को तोपामा छिट्टै किसान भेला डाकिएको अध्यक्ष सिंहले जानकारी दिए ।