close

गाईपालनले बनायो लखपति

युवाको लोभलाग्दो कृषिकर्म

गाईपालनले बनायो लखपति

युवाको लोभलाग्दो कृषिकर्म

Trulli
ADVERTISEMENT

सप्तरी - रोजगारीको खोजीमा लाखौं युवाहरू खाडी मुलुक पसिरहेका बेला सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–६ वसन्तपुरका अनिलप्रकाश तिवारीले घरमै समृद्धि भित्र्याएका छन् ।


तिवारीले उन्नत जातका गाईपालन गरेर मासिक १ लाखभन्दा बढी आम्दानी गरिरहेका छन् ।  गाउँमा केही गर्न सकिँदैन भन्नेहरूका लागि  गतिलो उदाहरण बनेका तिवारी ३ वर्षअघि जेटीएको अध्ययन सकाएर गाईपालनमा लागेका थिए । 


आफ्ना स्व. बाबा कृतिप्रकाश तिवारीले खोलिदिएको उन्नत जातको गाईपालन व्यवसायलाई निरन्तरता दिँदै दूध बिक्री गरेर लखपति बन्न सफल भएका हुन् । 


माउ, गोरु, बाच्छाबाच्छी गरी २० गाईवस्तु रहेको तिवारीको गोठमा अहिले ६ गाईले दैनिक बिहान-बेलुका गरी ७० लिटरसम्म दूध दिने गरेको छ । अन्य समयको तुलनामा अहिले दूध बिक्रीसमेत सहज भएकाले आफ्नै ठाउँगाउँमै गाईपालनमै रमाएर आम्दानी गर्दै आएको तिवारी सुनाउँछन् ।


‘बिदेसिएर पोखेको परिश्रम र पाएको वेदना साथीहरूले सुनाउँदा परदेश जानै मन मानेन । स्वदेशमै केही गर्ने जोस-जाँगर भए रोजगारीका अवसर हजार छन्’, तिवारीले भने । गाईबाहेक माछापालन, कुखुरा फार्म, हाँसपालनसहित खेतीपाती गरेर पनि पर्याप्त आम्दानी लिन सकिने हुँदा विदेशिने सोच त्याग्न समकक्षी युवालाई उनको सुझाव छ ।


तिवारीजस्तै वसन्तपुर गाउँका अन्य युवाहरूले समेत गाईपालन गरेर आम्दानी लिँदै आएका छन् । सो गाउँमा उत्पादित दूध राजविराज, बरमझिया, विराटनगर, लहानलगायतका सहरसम्म निर्यात गर्ने गरेको उनीहरू बताउँछन् ।