close

स्याउका दाना बेचेर यो वर्ष ७१ करोड कमाए मुस्ताङीले

स्याउका दाना बेचेर यो वर्ष ७१ करोड कमाए मुस्ताङीले

Trulli
ADVERTISEMENT

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङबाट यसवर्ष ७१ करोड रुपैयाँको स्याउ जिल्ला बाहिर निकासी भएको छ । ७१ सय ५० मेट्रिक टन स्याउ सरदर प्रतिकेजी एक सय रुपैयाँमा ठेक्का मार्फत बिक्री गर्दा उक्त मूल्यको स्याउ निकासी भएको हो ।


जिल्लामा उत्पादन भएको ८५ प्रतिशत स्याउ देशका विभिन्न बजारमा निकासी भएको  र १५ प्रतिशत कम गुणस्तरको स्याउ प्रशोधनका लागि मुस्ताङमै खपत हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाई मुस्ताङले जनाएको छ ।


गतवर्ष मुस्ताङमा ६५ सय मेट्रिक टन स्याउ उत्पादन भएकोमा यसवर्ष ५ सय ५० मेट्रिक टन स्याउ बढी फलेको परियोजना कार्यान्वयन इकाई मुस्ताङका प्रमुख डा. सुधिर थापाले जानकारी दिए ।

 
उनका अनुसार परियोजनाले मुस्ताङको थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्रका विभिन्न व्यक्ति तथा फार्मको स्याउ बगैचा सर्भेक्षण गरिएको जनाएको छ ।


मुस्ताङको तल्लोक्षेत्र थासाङको कोवाङ र टुकुचेमा विगतभन्दा केही कम मात्रामा स्याउ फलेको भए पनि जिल्लाको घरपझोङ र वारागुङ मुक्तिक्षेत्रमा भने विगतभन्दा राम्रो र गुणस्तरीय स्याउ उत्पादन भएको परियोजना इकाई प्रमुख डा. थापाले जानकारी दिए ।


मुस्ताङको थासाङमा मौसमी आद्रताका कारण स्याउमा प्रकोप देखिए पनि केही किसानले स्याउ बगैँचा व्यवस्थापनमा ध्यान दिएकाले उत्पादन तथा गुणस्तरमा फरक नपरेको इकाई प्रमुख थापाको भनाइ छ ।


मुस्ताङमा स्याउ खेती गरिएको कुल क्षेत्रफल १४ सय हेक्टर भए पनि जम्मा ५ सय हेक्टर जमिनमा लगाइएको बोटले उत्पादन दिन्छ । मुस्ताङको अनुकुल हावापानी, स्याउ खेती विस्तार तथा प्रर्वद्धन, प्रविधिको विकास, स्याउमा लाग्ने प्रकोप नियन्त्रण र बगैचा व्यवस्थापनमा प्रगति भएकाले स्याउ उत्पादन वृद्धि भएको डा.थापाले बताए ।

 

किसानको स्याउ बगैचामै प्रतिकेजी एकसय रुपैयाँ बढीमा ठेक्का मार्फत बिक्री भएको छ । स्याउ उत्पादनले प्रसिद्ध हिमाली जिल्ला मुस्ताङको टुकुचे, कोवाङ, मार्फा, जोमसोम, कागबेनी छुसाङ र मुक्तिनाथ लगायतका स्थानमा व्यावसायिक रुपमा स्याउ खेती गरिन्छ ।