close

मुसीकोटको वामिटक्सारमा कृषि हाटबजार

मुसीकोटको वामिटक्सारमा कृषि हाटबजार

Trulli
ADVERTISEMENT

गुल्मी- गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ७ मा वामिटक्सार कृषि हाटबजार निर्माण गरिएको छ । मुसीकोट नगरपालिकाको २५ लाख रुपैयाँको आर्थिक सहयोगमा उक्त हाटबजार निर्माण भएको हो ।

 

स्थानीय कृषि उपज संकलन तथा बिक्री वितरण गर्न हाटबजारले किसानलाई सघाउ पुर्‍याउने नगरपालिकाको विश्वास छ । हाटबजार निर्माण भएसँगै उत्पादित कृषि उपज सहज रूपमा बिक्री–वितरण गर्न सकिनेछ ।

 

उत्पादित कृषि उपज नगरपालिकाले बजारीकरण गर्न सहयोग पुर्‍याउनुपर्ने, उत्पादनमा अनुदान तथा कृषि उपजको उचित मूल्य निर्धारणलगायतमा नगरपालिकाले सहयोग गर्नुपर्ने स्थानीय कृषक राजन सापकोटा बताउँछन् ।

 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले गरिबी निवारण र स्वरोजगारका निम्ति कृषि क्षेत्र नै प्रमुख स्रोत भएकाले यसलाई व्यावसायिक रूपमा अगाडि बढाउन कृषकलाई आग्रह गरे ।

 

नगरप्रमुख सोमनाथ सापकोटाले कृषि, पशुपालन र पर्यटन क्षेत्रमा नगरपालिकाले काम गर्दै आएको बताए । कृषकलाई नगरपालिकाले अनुदान, सहुलियतमा मेसिन विबतरण, सहुलियत ब्याजदरमा ऋण लगानीलगायत कार्यक्रम सञ्चालन भइरहेको उनले जानकारी दिए ।

 

‘नगरपालिकाको विकासमा कृषि क्षेत्रले योगदान महत्त्वपूर्ण रहेकाले बिउ स्रोत केन्द्र स्थापनाका लागि सम्भाव्यता अध्ययन सुरु भएको छ’, उनले भने ।


कार्यक्रममा नगरपालिकाको वडा नम्बर ८ का अध्यक्ष नारायण सापकोटा, उद्योग वाणिज्य संघ मुसीकोटका सचिव महेश घिमिरे, पशु सेवा शाखा प्रमुख महेन्द्रराज पन्थीलगायतले बोलेका थिए ।