पाँचथर– पाँचथरको मिक्लाजुङ गाउँपालिकाले धेरै उत्पादन गर्ने किसानलाई १ लाख रुपैयाँ नगदसहित प्रोत्साहन पुरस्कार प्रदान गरेको छ । धैरै धान र मकै फलाउनेलाई नवौँ गाउँसभाको अवसर पारेर नगद पुरस्कारसहित १ सय २५ जना किसान पुरस्कृत भएका हुन् ।
कृषक प्रोत्साहन कार्यविधिका आधारमा रहेर उनीहरूलाई पुरस्कृत गरिएको हो । कोरोना महामारी नियन्त्रणका लागि गरिएको लकडाउनका बेला बाहिरबाट कृषि उपज ल्याउन समस्या भएपछि गाउँपालिकाका किसानलाई प्रोत्साहित गर्ने गरी पुरस्कार घोषणा गरेको थियो ।
४० मुरी धान फलाउने तथा ४ फिट चौडाइ, २० फिटको मकैको थाङ्ग्रो राख्ने किसानलाई प्रोत्साहन पुरस्कार दिइएको गाउँपालिका अध्यक्ष अमरराज माखीले जानकारी दिए ।
६६ जना धान खेती गर्ने र ५९ जना मकै उत्पादन गर्ने किसान रहेका छन् । किसानको आवेदनका आधारमा खेत तथा घरमै पुगेर अनुगमन गरी विवरण संकलन गरिएको हो ।
किसानलाई प्रोत्साहन गर्दै उत्पादन वृद्धि गर्ने नीतिअनुरूप पुरस्कृत गरिएको प्रमुख प्रशासकीय अधिकृत अनिल खत्रीले जानकारी दिए । आगामी आर्थिक वर्षमा थप परिमार्जन गरी यो कार्यक्रमलाई निरन्तरता दिइने गाउँपालिकाले जनाएको छ ।
वडा नम्बर १ का ३, २ का ११, ३ का १३ र ४ का १४ जना किसानले पुरस्कार पाएका छन् । यस्तै, ५ नम्बर वडाका २१, ६ का १२, ७ का १४ र ८ का २७ जना किसान पुरस्कृत भएका छन् ।
स्थानीय तहले किसानलाई प्रोत्साहन गर्ने यो कामलाई धेरैले महत्त्वपूर्ण भएको चर्चा गरेका छन् । यसअघि ३५ मनभन्दा धेरै आलु फलाउने किसानलाई प्रतिकेजी २० रुपैयाँ अनुदान सहयोग गरिएको थियो ।