close

अपि हिमालका हरेक वडामा कृषि व्यवसाय स्रोत केन्द्र

अपि हिमालका हरेक वडामा कृषि व्यवसाय स्रोत केन्द्र

Trulli
ADVERTISEMENT

दार्चुला– कृषि क्षेत्रको प्रवद्र्धनका लागि दार्चुलाको अपि हिमाल गाउँपालिकाले हरेक वडामा कृषि व्यवसाय स्रोत केन्द्र बनाउने अभियान थालेको छ । गाउँपालिकाले आलु, मकै, गहुँ, धान, कोदो, फापर, फलफूल तथा तरकारी, पशुपक्षीपालनलगायत फरक–फरक कृषि व्यवसायको स्रोत केन्द्र बनाउने अभियान थालेको हो ।

 

गाउँपालिकाले कृषि व्यवसाय स्रोत केन्द्र बनाउन चालू आर्थिक वर्षमा कुल ७४ लाख रुपैयाँ बजेट खर्च गर्दै छ । कृषि क्षेत्रको कार्यक्रम सञ्चालनका लागि हरेक वडामा ५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको अपि हिमाल गाउँपालिकाका कृषि शाखा सहायक रोहित धामीले बताए । उनले भने, ‘हरेक कृषक समूहलाई आवश्यक सीप तथा तालिमका साथै बिउबिजन, उन्नत जातका पशुपक्षी, औजार, विषादी र आर्थिक तथा प्राविधिक सहयोग गाउँपालिकाले उपलब्ध गराउनेछ ।’

 

कृषि व्यवसाय केन्द्र बनाउने उद्देश्यले गाउँपालिकाको वडा नम्बर १ मा राजमा खेती विस्तारका लागि ३ लाख, वडा नम्बर २ मा पोलिहाउस खरिदका लागि २२ लाख तथा राजमा पकेटल क्षेत्र निर्माणका लागि ६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यस्तै, गाउँपालिकाको वडा नम्बर ३ मा स्याउ खेती विस्तारका लागि १२ लाख, राजमा पकेट क्षेत्रका लागि ६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । वडा नम्बर ४ मा पोलिहाउस निर्माणका लागि २२ लाख तथा बिउबिजन खरिदका लागि १० लाख, ओखर खेती विस्तारका लागि ६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको अपिहिमाल गाउँपालिका कृषि शाखाले जनाएको छ ।

 


अपिहिमालको वडा नम्बर ५ मा ओखर पकेट क्षेत्र निर्माण तथा कृषि उपज संकलन केन्द्रका लागि ५ लाख रुपैयाँ विनियोजन गरिएको छ । सबै वडामा १÷१ वटा कृषि व्यवसायको स्रोत केन्द्र बनाउने उद्देश्यसहित हरेक वर्ष क्रमशः बजेट बढाउँदै लगिएको गाउँपालिकाले जनाएको छ ।

कृषक समूहबाहेक हरेक घरलाई तरकारी खेतीमा आत्मनिर्भर बनाउन यस वर्ष प्लास्टिक वितरण गरिनेछ । कृषि क्षेत्रमा लगानी बढाएपछि युवा कृषकसमेत आकर्षित गर्न सकिने गाउँपालिकाको विश्वास छ ।

 

पालिकाको समृद्धि र विकासका लागि कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्याल बताउँछन् । यसका लागि गाउँपालिकाका अध्यक्ष र वडामा वडाध्यक्षको संयोजकत्वमा कृषि विकास समिति गठन गरिएको छ । ‘अपिहिमाल उच्च भूभाग समेटिएर बनेका कारण पनि यस क्षेत्रमा तरकारी तथा दलहन बालीको निकै सम्भावना छ’, उनले भने ।


उत्पादित कृषिउपज खपतका लागि पनि गाउँपालिकाले सहयोग गर्ने योजना बनाएको छ । गाउँपालिकामा कृषि क्षेत्रको विकासका लागि वडा तथा पालिकास्तरीय आवधिक योजनाको निर्माणसमेत भइरहेको जनाएको छ । आवधिक योजनाको निर्माणका लागि अपि हिमाल गाउँपालिकामा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले सहयोग गर्दै आएको छ । अपि हिमाल स्याउ, आलु, राजमा, भटमासलगायतका बाली फल्ने राम्रो क्षेत्रको रूपमा चिनिन्छ ।


अहिले सडकको पहुँच अपि हिमालको वडा नम्बर ५ मकरीगाडसम्मै पुगेपछि अपिमा उत्पादित तरकारी सहज रूपमा बिक्री हुन थालेको छ । किसानले गाउँमा विगतमा सडेर जाने, खान नसकिएको तरकारी, दाल, आलुलगायतको राम्रो मूल्य पाउन थालेका छन् । अपि हिमालका स्थानीय पोखरसिंह रोकाया सडक पहुँच पुगेसँगै यो वर्षदेखि मकै, गहुुभन्दा आलु खेती विस्तार गर्न लागेको बताउँछन् । उनले भने, ‘मकै लगाउनुभन्दा आलु उत्पादन गरेर विक्री गर्ने योजना बनाएको छु । आफ्नो खेत र थप भाडामा लिएर आलु खेती गर्न सुरु गरेको छु ।’