दीपक खड्का
कपिलवस्तु/ शिवराज- कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर २ लाई तरकारी पकेट क्षेत्रको रूपमा विकास गरिने वडाध्यक्ष रामबहादुर चौधरीले बताएका छन् ।
शिवराज नगरपालिका कृषि शाखाको आयोजनामा तरकारी खेती तथा घरेलु विषादी प्रयोगसम्बन्धी स्थलगत तालिममा वडाध्यक्ष चौधरीले कृषकलाई बजारबाट तरकारी किन्ने पुरानो सोच बदल्न आग्रह गरे ।
तालिमबाट कृषकले आफूलाई चाहिने तरकारी आफैं उत्पादन गरी आत्मनिर्भर हुन सके मात्र सफलता मिल्ने उनको भनाइ छ । नर्सरी व्यवस्थापन, घरेलु विषादी तथा मल निर्माण एवं प्रयोग र लहरे तरकारीमा थ्रिजी कटिङबारे तालिममा सहभागीलाई जानकारी गराइएको कृषि शाखा अधिकृत ताराचन्द्र चौधरीले जानकारी दिए । तालिममा २६ जना कृषकको सहभागिता रहेको कृषि शाखाकी प्राविधिक चित्रा पोखरेले बताइन् ।