close

कसरी राख्ने चैते धानको बिउ ? भव त्रिपाठीका टिप्स 

कसरी राख्ने चैते धानको बिउ ? भव त्रिपाठीका टिप्स 

Trulli
ADVERTISEMENT

काठमाडौं- आज चैतको ८ गते भइसक्यो । कृषकहरुका लागि चैत धान रोप्ने चटारोको महिना हो । यतिवेला चैते धानको बिउ राख्ने र कतिपय ठाउँमा रोप्ने चटारो सुरु भइसकेको छ । 

 

परम्परागत खेती प्रणालीमा हुर्किएका कृषकका लागि धान कसरी वढी फलाउने भन्ने चिन्ता सधै हुन्छ । बिउ कसरी राख्ने ? पानी कतिवेला लगाउनेजस्ता विषयमा जानकारी नहुँदा धानको बिउ नै  भनेजति उत्पादन नभएको कृषकको गुनासो हुन्छ । 

 

धानको बिउ राख्नु अघि धानको व्याड कसरी राख्ने? यसको व्यवस्थापन कसरी गर्ने लगायतका विषयमा कृषिविज्ञ भव त्रिपाठीलाई हामीले सोधेका  छौं । उनी राम्रो र मनग्य धान उत्पादनका लागि नर्सरी व्यवस्थापन गर्नु महत्वपूर्ण हुने बताउँछन् । उनकै भाषामा धानकाे बिउ कसरी राख्ने रहेछ, पढौं । 

 

ब्याड र बिउको गुणस्तर

 

धानको व्याड अर्थात नर्सरीका लागि सर्वाेकृष्ठ र सबैभन्दा प्रख्यात जात छान्नु पर्छ । नर्सरी ब्याडको लागि भरपर्दो सिंचाइको स्रोत भएको, पानीको राम्रो निकास भएको तथा पारिलो ठाँउ छनोट गर्नु पर्छ ।

 


सकेसम्म आधिकारिक बिक्रेताबाट उच्च उत्पादकत्व भएको प्रमाणित बिउ वा हाइब्रिड बिउ किन्नुपर्छ । आफ्नै बिउ प्रयोग गर्ने हो भने राम्रो उर्भराशक्ति भएको, सफा, शुद्ध र स्वस्थ हुनु पर्छ । धानको ब्याड दुई तरीकाबाट निर्माण गर्न सकिन्छ  । पहिलो हो हिले ब्याड । र अर्को धुले ब्याड । 

 

कसरी तयार पार्ने हिले ब्याड ? 

 

ब्याड तयार गर्नुअघि किसानले बिउको छनोट गर्नुपर्छ । बिउलाई १ किलो नुनमा ५ लिटर पानी मिसाएर ४ देखि ५ पटक पखाल्नु पर्छ । त्यसो गर्दा  बिउ पानीको पिँधमा बस्छ । धान रोपाइँको लागि आवश्यक स्वस्थ र दरिला बेर्ना उत्पादन गर्न ३०० देखि ४०० सय स्क्वायर मिटरको ब्याड पर्याप्त हुन्छ ।

 

ब्याडको तयारीका लागि पहिला जमिनलाई राम्ररी जोत्न पर्छ ।  त्यसपछि ब्याड राख्नु भन्दा कम्तीमा २५-३० दिन अघि २ क्विन्टल गोबरमल वा कम्पोस्ट मल हालेर जोत्नुपर्छ ।  मसिनो भइसकेको माटोमा बिउ मिसाउने र जमिनलाई हिलो बनाउने गर्नुपर्छ । 

 


सो जमिनमा १-२ वटा १५ से.मि अग्लो र १ मिटर लामो ब्याड बनाउने र ३० सेमीको निकास च्यानल बनाउनु पर्छ । छर्नका लागि उम्रेको बिउको प्रयोग गर्नुपर्छ । त्यसका लागि बेभिस्टिन २ ग्राम प्रति केजी वा साफ ३ ग्राम प्रति केजी बिउ १ लिटर पानीको दरले बनाइएको घोलमा रातभर भिजाउनु पर्छ । जुटको बोरामा राखेर इन्कुबेट गरेपछि टुसा पलाउँछ । टुसाको लम्बाइ ७-८ मिमि भन्दा धेरै हुनु हुँदैन ।


धुले ब्याड कसरी राख्ने ?

 

जहाँ सिँचाइको पर्याप्त सुविधा हुँदैन त्यस्तो स्थानका लागि धुले व्याड उपर्युक्त हुन्छ । जमिनलाई राम्रोसँग जोत्नुपर्छ । छर्नु अघि भाडामा बिउ भिजाएर राम्रोसँग चलाउने र पानीमाथि तैरिएका सबै दानाहरु हटाउनु पर्छ ।  बाँकी दानालाई मात्र बिउको रुपमा प्रयोग गर्नुपर्छ । 

 

१ किलो नुनमा ५ लिटर पानी मिसाएर ४ देखि ५ पटक पखाल्नु पर्छ । त्यसो गर्दा राम्रो विउ पानीको पिँधमा बस्छ । सो माटोमा धानको विउ छर्ने र माथिबाट धुलो माटो वा स्याउलाले छोप्नुपर्छ ।  माटो छोपेको स्याउला ५ दिन पछि निकालिदिनु पर्छ ।  


 
बेर्नाको उमेर


धानको बेर्नाको उमेर ठाउँ अनुसार फरक पर्न सक्छ । तराई अर्थात गर्मी स्थानमा ३ हप्ता र पहाडी जिल्लामा ४ हप्ताको बेर्ना उपर्युक्त हुन्छ । 

 

मलखाद व्यवस्थापन

 

बिउ छर्नु भन्दा पहिले ४ केजी बिउमा २.४ केजी पोटास र १ केजी जिन्क सल्फेट माटोमा छर्नुपर्छ । बीउ छरेको १३ देखि १५ दिनमा २.८ केजी युरिया छर्नुपर्छ । यदि आइरनको कमी छ भने ०.५ प्रतिशत फेरस सल्फेट प्रयोग गर्न सकिन्छ ।

 

झारपात नियन्त्रण

 

झारपात नियन्त्रणका लागि सोफित ६० ग्राम प्रति कठ्ठाको दरले ५-६ केजी बालुवामा मिसाएर छरेको १-३ दिन भित्रमा ब्याडमा पानी जमेको अवस्थामा छर्नु पर्छ ।

 

सिंचाइ

 

कलिलो बेर्नालाई दिउँसोको चर्को घामबाट बचाउन नर्सरीमा दिउँसोपख पानी जम्न दिनु हुँदैन । त्य्सैले सिचाइ हल्का रुपमा बेलुकापख गर्नुपर्छ ।