close

स्ट्रबेरी किसानका दुःख: बारीभरि लटरम्म उत्पादन तर छैन बजार

स्ट्रबेरी किसानका दुःख: बारीभरि लटरम्म उत्पादन तर छैन बजार

Trulli
ADVERTISEMENT

मोरङ– देशको करिब २ तिहाइ जनसंख्याको जीविकोपार्जनसँग जोडिएको कृषि क्षेत्र राज्यको प्राथमिकतामा पर्न नसक्दा किसानले उत्पादन गरेका उपज बिक्रीमा हैरानी खेप्नुपर्ने बाध्यता छ ।

 

कृषि क्षेत्रको आधुनिकीकरण सरकारको नीति तथा कार्यक्रम, पार्टीका घोषणापत्र र नेताका भाषणमा सीमित बनिरहेको छ ।

 

कोरोनाका कारण रोजीरोटी गुमाएर गाउँ फर्किएका युवाले कृषि पेसा अँगाल्ने र त्यसपछि कृषिमा क्रान्ति आउँछ भन्ने धेरैलाई लागेको थियो । तर, त्यस्तो भएको देखिएको छैन । नेपालमै बसेर केही गर्ने योजना बनाएका युवाहरू पनि पछिल्लो समय पुर्पुरोमा हात राखेर बसिरहेका छन् ।

 

सुनसरीको बर्जु गाउँपालिका वडा नम्बर ४ हसनपुरमा एमएसआई एग्रो प्रालिले ३ बिघामा स्ट्रबेरी खेती गरे पनि उत्पादन बिक्री नहुँदा लगानी बालुवामा पानी हुने अवस्था छ । चिसो मौसममा मात्रै हुने स्ट्रबेरी तराईमा फलाइए पनि मूल्य नपाएको एमएसआई एग्रो प्रालिका म्जानेजर दिपेश खड्काको गुनासो छ ।

 

स्ट्रबेरी खेती सुरु गरे पनि बजार मूल्य र व्यवस्थापन नहुँदा किसानले घाटा खानुपर्ने अवस्था रहेको खड्का बताउँछन् । बारीमा लटरम्म फलेको स्ट्रबेरीले बजार पाउन सकेको छैन । 

 

दैनिक २ क्विन्टल उत्पादन हुने स्ट्रबेरी बजारमा ८० देखि ९० केजी मात्र बिक्री हुने गरेको एग्रोका कर्मचारी सुवास चौधरीले बताए । मौसमी खेती स्ट्रबेरी लगाइएको २ महिनादेखि नै फल्न थाल्ने र ४ महिनासम्म रहने भएकाले यसको बजार मूल्य ५ सय देखि ८ हजार रुपैयाँसम्म पर्ने उनले जानकारी दिए । बजारमा पुर्‍याउँदा बल्लतल्ल प्रतिकेजी ५ सय रुपैयाँसम्ममा केही सुपरमार्केटले राख्ने गरेको उनले बताए । 

 

लाखौँ लगानी गरेर उत्पादन राम्रो भए पनि बजारमा माग कम नहुँदा किसान निराश हुनुपर्ने अवस्थामा रहेको उनले बताए । स्वास्थ्यका लागि लाभदायक फल भए पनि यसको प्रशोधन गरेर जुस, जाम वाइन बनाएर विदेश निर्यात गर्न सकिन्छ । तर, राज्यले यसतर्फ चासो नदिएको किसान बताउँछन् ।