close

कोरोना कहरबीच खेतीपातीको चटारो 

कोरोना कहरबीच खेतीपातीको चटारो 

Trulli
ADVERTISEMENT

पाल्पा– कोरोना कहरको निषेधाज्ञाको समयमै भएको वर्षाले पाल्पाका ग्रामीण भेगका कृषक खेतीपातीमा व्यस्त हुन थालेका छन् । कोरोनाले सहर–बजार आक्रान्त बनेका बेला गाउँघरमा खेती गर्न भ्याई–नभ्याई भएको हो ।

 

अधिकाश उद्योगधन्दा, कलकारखाना ठप्प भएपछि युवाहरू गाउँघर फर्किएर खेतीपातीमा जुटेका छन् । उनीहरूले खेतबारीमा गहुँ र जौ भित्र्याउन, मल बोक्न, मकै लगाउन सघाउँदै छन् ।


कोरोनाको जोखिम रहेकाले परिवारका सदस्यहरू मात्रै मिलेर खेतबारीमा काम गरेका छन् । निषेधाज्ञाले विद्यालय बन्द भएकाले विद्यार्थीहरू पनि खेतीपातीमा जुटेको रैनादेवी छहरा गाउँपालिकाका नेत्रबहादुर बुढाथोकीले बताए । 

 

पाल्पामा १६ वैशाखदेखि निषेधाज्ञा जारी भएपछि सहर–बजारमा बस्ने जागिरे, व्यापारी, विद्यार्थी सबै गाउँ फर्किएका छन् । लामो खडेरीपछि वर्षा भएसँगै कृषकहरू खेतीपातीमा जुटेका हुन् । 

 

कोरोना कहरले जागिर गुमाएर भारत तथा तेस्रो मुलुकबाट युवाहरू गाउँघर फर्किएका छन् । यी युवा गत वर्षदेखि गाउँघरमै कृषि कर्ममा रमाइरहेका छन् ।

 

गाउँ–घरमा बाँझा जमिनमा खेतपाती हुन थालेको छ । वर्षा भएकाले गाउँमा कृषकहरू खेतीपातीमा जुटेको पाल्पा भुवनपोखरीका कृषक भूपालसिंह खाम्चा मगर बताउँछन् । 

 

गत वर्ष बाँझो जमिनमा खेतीपाती गर्ने कृषकलाई पालिकाले अनुदान सहयोगसमेत गरेका थिए । यस वर्ष त्यो कार्यक्रमले निरन्तरता पाउने आश कृषकको छ ।