रुकुम पूर्व– सामान्यतया खेतबारीमा लगाइने बाली छिटोमा ४ र ढिलोमा ६ महिनामा पाकिसक्छ र घर भित्र्याइन्छ । तर, रुकुम पूर्वमा केही यस्ता बस्ती छन्, जहाँ एक बाली १० महिना नपुगी पाक्दैन ।
विशेषगरी हिउँदे बालीका रूपमा रहेको गहुँ, जौ, पाक्न यहाँ १० महिना समय लाग्छ । यसले गर्दा गहुँ लगाएको बारीमा वर्षमा अर्को बाली लगाइँदैन । सिस्ने गाउँपालिका वडा नम्बर १ को ठूलो सिस्नेलगायत वडाका विभिन्न बस्तीमा असोजमा लगाइएको गहुँ, जौ बाली असार मसान्त नभई पाक्दैन ।
उच्च हिमाली एवं बुकी पाटन क्षेत्रमा अत्यधिक चिसोका कारण १० महिना समय लाग्ने गरेको स्थानीयले बताए । यो वर्ष पनि हिउँदे बाली गहुँ अब पाक्न सुरु गरेको छ ।
असोज, कात्तिकमा लगाइने गहुँ, जौ असार मसान्तदेखि साउन पहिलो सातासम्म बाली पाक्ने गरेको वडाध्यक्ष मानबहादुर बुढाले बताए । सिस्ने वडा नम्बर १ मा हिउँदे बाली असार, साउनमा पाख्ने भएकाले वडाबासीले हरेक वर्ष पानीको झरीबीच हिउँदे अन्नबाली भित्र्याउने गरिएको वडाध्यक्ष बुढाले जानकारी दिए ।
जिल्लाकै प्रख्यात पर्यटकीय स्थल सिस्ने हिमालको काखमैमा वडा नम्बर १ का बस्ती रहेका छन् । वर्षमा एउटा बाली मात्रै हुने भएपछि सिस्ने वडा नम्बर १ का स्थानीयले एक वर्ष मकै लगाउँछन् भने अर्काे वर्ष गहुँ, जौ खेतीपाती गर्ने गरेका छन् ।
सिस्ने वडा नम्बर १ मा उत्पादित अन्नपातले मुस्किलले ४ देखि ५ महिनासम्म मात्रै खान पुग्छ । बाँकी बाहिरबाट अन्नपात किनेर खाने बाध्यता रहेको स्थानीय सुनाउँछन् । सिस्नेबासीको आम्दानीको मुख्य स्रोत वैदेशिक रोजगारी, स्थानीय वनमा पाइने जडीबुटी, भेडाबाख्रा, गाईभैँसी, डोका, नाम्ला र मान्द्रो बिक्री रहेको
छ ।
सोही सामग्री बिक्री वितरण गरेर वडा १ १ बासीले चामल खरिद गरेर अन्नपात परिपूर्ति गर्ने गरेका छन् । उक्त वडामा सञ्चार र यातायात सुविधासमेत नरहेकाले जनजीवन कष्टकर छ ।