close

कपिलवस्तुका किसानलाई प्रदेश र स्थानीय सरकारको साथ (भिडियो खबर) 

कपिलवस्तुका किसानलाई प्रदेश र स्थानीय सरकारको साथ (भिडियो खबर) 

ADVERTISEMENT

कपिलवस्तु- देशको विकासको लागि कृषि क्षेत्रको विकासले सबै भन्दा महत्वपूर्ण भूमिका खेल्ने गर्छ । नेपालमा ६८ प्रतिशत जनता कृषिबाट जीविकोपार्जन गर्दै आएका छन् । देशको कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको प्रमुख योगदान समेत छ । कृषकले नयाँ प्रविधि, सिँचाईको सुविधा, उपकरणको प्रयोग गर्दै आधुनिक शैलीमा कृषि गर्ने प्रचलन सुरु भएको छ ।

 

संघीयता अघि एनजिओ, आइएनजिओको भरमा परेका कपिलवस्तुका कृषक अहिले स्थानीय र प्रदेश सरकारको सहयोग पाएपछि खुसी हुन थालेका छन् । केही वर्ष अघिसम्म कपिलवस्तुका कृषक गैर सरकारी संस्था र अन्तर्राष्ट्रिय गैर सरकारी संस्था कता छ भन्दै खोज्दै हिँडने गर्थे ।

 

ग्रामीण भेगमा सरकारी सेवाको पहुँच न्युन हुँदा धेरै कृषक प्रोजेक्टको भर परेका थिए । त्यो बेला सरकारको सहयोगका लागि कृषक कर्मचारी खोज्दै कार्यालय धाउनु पर्ने बाध्यता थियो । तर, अहिले भने कृषिका कर्मचारी कृषकलाई सहयोग गर्न कृषक खोज्दै हिँड्न थालेका छन् । पछिल्ला चार वर्षमा सरकारी अनुदान कृषकले पाउन लागेपछि कृषक खुसी भएका छन् ।


व्यावसायिक कृषकलाई पालिका र प्रदेश सरकारले प्राङ्गारिक मल, बिउ-बिजन, सिँचाईका लागि मोटर, पम्पसेट तथा बोरिङ्ग, साना औजार, आधुनिक उपकरण, ढुवानीका लागि सवारी साधन समेत अनुदानमा उपलबध गराउन लागेको छ ।

 

कपिलवस्तुमा धान, गहुँ, तरकारी खेती, माछा पालन, भैँसी पालनका लागि स्थानीय र प्रदेश सरकारले सहयोग गर्ने गरेको छ । नियमित अनुगमन हुने, स्थानीय सरकारको सिफारिस समेत हुने भएपछि व्यावसायिक कृषक अनुदानको दायरामा आउन लागेका छन् । 


कृषिको विकासको लागि पालिकाले कृर्षि प्रवद्र्धन कार्यक्रम, कृषि ब्लक कार्यक्रम, उपकरण अनुदान तथा लुम्बिनी प्रदेश सरकारको सहयोगबाट पकेट क्षेत्र कार्यक्रम, स्मार्ट कृषि गाउँ लगायतका कार्यक्रम सञ्चालन गरेको छ । यि कार्यक्रमबाट व्यावसायिक कृषक सरकारी अनुदानबाट लाभान्वित भएका छन् । कृषकले ५० देखि ८५ प्रतिशत सम्म अनुदान पाउने गरेका छन् । यसरी सरकारी सेवा ग्रामीण भेगमा पुगेपछि कृषि क्षेत्रमा पछिल्ला ३ वर्षमा कृषकले अधिकतम फाइदा लिन सकेका छन् । 


कृषकलाई साना हाते औजार, ठुला मसिनरी औजार, प्राङ्गारिक मल, विषादी छर्ने विद्युतीय स्प्रे मेसिन, उन्नत जातका बिउबिजन देखि लिएर ढुवानीका लागि ट्याक्टर, पिकअप भ्यान र अटो समेत वितरण गरिएको छ । तर, कृषकलाई बजारीकरणको समस्या भने यथावत छ । ढुवानीको लागि सवारीसाधन पाए पनि थोक विक्री केन्द्र नुहँदा विचौलिया हावी भएका छन् ।