close

फिक्कलमा ३०० रोपनी धानबालीमा क्षति

फिक्कलमा ३०० रोपनी धानबालीमा क्षति

Trulli
ADVERTISEMENT

सिन्धुली– सिन्धुलीको फिक्कल गाउँपालिकामा किसानले लगाएमध्ये ३०० रोपनी क्षेत्रफलको धानबालीमा क्षति पुगेको छ । निरन्तरको वर्षाका कारण पाक्न लागेको र पाकेको धान नष्ट भएको हो ।


खेती किसानी गरी वर्षभरि खाने अन्नको जोहो गर्दै आएका यहाँ किसान वर्षाले भित्र्याउन लागेको धानमा क्षति पुर्‍याएपछि चिन्तित बनेका छन् । केही किसानले धान काटेर सुकाएकै दिन पानी परेर भिजेको र धान उम्रन थालेको गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवारले जानकारी दिइन् ।


उनका अनुसार २०० भन्दा बढी किसानको धानमा क्षति पुगेको छ । पालिकाको वडा नम्बर ५, ४, ६, १, ३, २ मा काटेको धानमा क्षति पुर्‍याएको र नकाटेको पाक्दै गरेको धान पनि ढलेर बोटमै उम्रिन थालेको उनले बताइन् । वर्षाले क्षति भएको धानबालीको विवरण संकलन भइरहेको र थप क्षति विवरण आउन बाँकी रहेको उनको भनाइ छ ।


पछिल्लो विवरणअनुसार ७० लाख रुपैयाँ बराबरको धानबाली नष्ट भएको छ । धानबालीसँगै वर्षाका कारण कोसेबालीमा पनि क्षति पुगेको छ । मास, भटमास, राजमा, गहतका कोसा कुहिन थालेको र फापर, जुनेलो र कोदो बालीमा पनि वर्षाले क्षति पुगेको उनले बताइन् ।  ‘वडा–वडाबाट क्षति विवरण संकलन गरिरहेका छौँ । विवरण लिन छुटे कृषि प्राविधिकको सम्पर्कमा आउन किसानलाई आग्रह गरेका छौँ’, उनले भनिन् ।