close

चाँगुनारायणले बंगुरपालन व्यवसायीलाई लगायो उठिबास 

चाँगुनारायणले बंगुरपालन व्यवसायीलाई लगायो उठिबास 

Trulli
ADVERTISEMENT

काठमाडौं– गत बिहीबार चाँगुनारायण नगरपालिकाले अचम्मलाग्दो सूचना जारी गर्‍यो  । सूचना जारी भएको लेटर प्याडको सबैभन्दा तल एउटा नारा राखिएको थियो ‘कृषि, पर्यटन र सामाजिक पूर्वाधार : समृद्ध चाँगुनारायणको मूल आधार’ ।  तर, नाराको ठीक विपरीत सूचना भने कृषकलाई बंगुरपालन निषेध गर्ने गरी जारी गरिएको छ । 

 

नगरपालिकाले निकालेको सूचनाअनुसार चाँगुनारायणभित्र बंगुरपालन गर्न नदिइने निर्णय नगरसभाबाटै पारित गरिएको छ । बंगुरपालन गर्दा प्रदूषण बढेर नागरिकको स्वास्थ्यमा असर पर्ने उल्लेख गरिएको छ ।

 

‘बंगुरपालन गर्दा प्रदूषणका कारण नगरबासीको स्वास्थ्यमा प्रतिकूल पर्न गएको छ,’ सूचनामा लेखिएको छ, ‘नगरपालिकाभित्र जुनसुकै अवस्थामा सञ्चालित बंगुर फार्म वा व्यवसाय सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र हटाई कार्यालयमा जानकारी गराउन जानकारी गराइन्छ ।’ ३० दिनभित्र नहटाए नगरपालिकाले कारबाही गर्ने भनिएको छ । 

 

यो निर्णयले नगर क्षेत्रका कृषक आफ्नो पेसा व्यवसाय गुम्ने भएकाले निराश छन् । आफ्नो मूल पेसा नै बंगुरपालन बनाएर लगानी गरेका किसान अब के गर्ने भनेर अन्योलमा परेका हुन् । बंगुरपालक दावा तामाङ नगरपालिकाको निर्णयपछि दुःखी छन् । उनी २०७३ मा वैदेशिक रोजगारबाट आफ्नै देश फर्किएका हुन् । 

 

स्वेदेश फर्किएपछि उनले चाँगुनारायण नगरपालिका चुनदेवीमा बंगुरपालन सुरु गरे । विदेशबाट ल्याएको ७ लाख रुपैयाँ उनले संरचना बनाउनमै खर्चिए । संरचना बनेपछि ६ लाख रुपैयाँ लगानी गरेर बंगुरपालन थाले । पछि पुन उनले आफ्नो जमिनसमेत बेचेर अहिले करिब ९ लाख रुपैयाँ बंगुरमै खन्याएका छन् ।

 

तर, नगरपालिकाले बंगुर पाल्न नदिने भनेपछि उनी चिन्तित छन् । भन्छन्, ‘यति ठूलो लगानी गरिएको छ । जग्गासमेत बेचेर बंगुर किनेको हुँ । अब नगरपालिकाले भन्नेबित्तिकै बंगुर लिएर कहाँ जाने, के गर्ने ?’


उनको ४ जनाको परिवार छ । छोराछोरी पढाउने र घरखर्च सबै यही व्यवसायबाट चलिरहेको छ । तर, व्यवसाय नै नगरपालिकाले खाइदिएपछि छोराछारी कसरी पढाउने, के गरेर दैनिकी चलाउने : उनलाई अन्योल भएको छ ।

 

‘स्थानीय सरकारले कृषिलाई जोड दिन्छ, सहयोग गर्छ भन्ने सुनेको थिएँ,’ उनले दुःखी सुनिए, ‘तर कृषिलाई नै निषेध गरिदियो । नगरपालिकाले भन्नेबित्तिकै मैले कसरी हटाउने ? नयाँ काम के गर्ने ? छोराछोरी कसरी पढाउने ? अन्योलमा छु ।’ अहिले नगरपालिकाले फार्म दर्तासमेत नगरिदिएको उनले बताए । 
नगरपालिका क्षेत्रभित्र बंगुर पाल्ने उनी मात्र एक्ला भने होइनन् ।

 

धेरै स्थानीयले बंगुर व्यवसाय गरेर आफ्नो गुजारा चलाइरहेका छन् । चुनदेवी आसपास मात्रै करिब ३० परिवारले बंगुरपालन गरेका छन् । नगर क्षेत्रभर अझै धेरै संख्यामा किसानले बंगुरपालन गरेका छन् । 

 

यद्यपि कति घरधुरीले बंगुरपालन गरेका छन् भन्ने यकिन तथ्यांक नगरपालिकासँग उपलब्ध छैन । अन्य नगरपालिकाले कृषि र पशुपालनमा अनुदानसमेत दिएर सहयोग गरिरहेका बेला चाँगुनारायणले भने किसानमारा नीति लिएको छ ।

 

३० दिनभित्र नहटाए बंगुर लिलाम गर्छौं

 

नगरप्रमखु सोमप्रसाद मिश्रलाई नगरको निर्णयले किसानलाई अफ्ठेरोमा पारेकोबारे सोधिएको प्रश्नमा मानिस र बंगुर एकै ठाउँ बस्न नसक्ने भएकाले हटाउने निर्णय गरिएको उनले काइते उत्तर दिए ।

 

‘बंगुर र मानिस एकै ठाउँ बस्न सक्दैन,’ उनले पालिकाखबरसँग भने, ‘मान्छे बसेको ठाउँमा बंगुर हुँदैन । बंगुर पालेको ठाउँमा मान्छे हुँदैन । चाँगुनारायण तीव्र सहरीकरण भइरहेको नगर हो । सबै ठाउँमा मानव बस्तीले ढाकेको छ । उनीहरूलाई असर गरेकाले हटाएका हौँ ।’ नगरपालिकाले दुई वर्षअघि नै निर्णय गरेकाले अहिले कार्यान्वयनमा मात्रै लगिएको नगरप्रमुख मिश्रले दाबी गरे ।

 

‘नगरपालिकाले दुई वर्षअघि गरेको निर्णय हो,’ उनले भने, ‘यो बीचमा धेरैले हटाउनुभयो । कतिपयले अटेरी गरिरहनुभएको छ । त्यसका लागि हामीले सूचना जारी गरेका हौँ ।’ नहटाएका फार्मलाई नगरपालिका आफैंले हटाउने उनले बताए । ‘अझै हटाउनुभएन भने हामीले सबै बंगुर खोरबाटै झिकेर ल्याएर लिलामी गर्छाैं,’ उनले भने, ‘नटेरे कारबाही गर्छौं ।’

 


नागरिकको अधिकारमाथि धावा

 

नगरपालिकाको निर्णयप्रति धेरैले असन्तुष्टि जनाएका छन् । नगरपालिका क्षेत्रभर बंगुरपालन निषेध गर्नु दादागिरी भएको विज्ञहरूको भनाइ छ । राष्ट्रिय किसान आयोगका अध्यक्ष प्रेम दंगालले नगरपालिकाको निर्णय गलत भएको बताए । 

 

‘नगरपालिकाको यो निर्णय गलत हो,’ उनले भने, ‘किसानले आफ्नो सम्पत्तिको संरक्षण गर्ने, पेसा गर्ने अधिकार संविधानले नै दिएको छ । त्यसविरुद्ध जाने छुट कसैलाई छैन । नगरपालिकाले तुरुन्त निर्णय सच्याउनुपर्छ ।’ 

 

नगरपालिकाले बंगुरपालन गर्दा प्रदूषण भए त्यसका लागि मापदण्ड बनाएर पालन गर्न दिइनुपर्ने उनको धारणा छ । तर, प्रदूषण बढ्छ भनेर पूरै नगरमै बंगुरपालन निषेध गर्नु संविधानविपरीत भएको उनले बताए । नगरपालिकालाई तुरुन्त निर्णय फिर्ता लिनसमेत उनले माग गरे ।