close

गुराँसले बेच्यो एक वर्षमै १५ करोडको तरकारी

गुराँसले बेच्यो एक वर्षमै १५ करोडको तरकारी

Trulli
ADVERTISEMENT

दैलेख– दैलेखमै सबैभन्दा बढी तरकारी उत्पादन हुने गुराँस गाउँपालिकाले गत वर्ष १५ करोड रुपैयाँको तरकारी उब्जाएर बिक्री गरेको छ । लेकाली भू–भाग भएका कारण प्रशस्त मात्रामा यो क्षेत्रमा आलु, मूला, काउली, बन्दा, सिमीलगायत तरकारी उत्पादन हुने गरेको छ । परम्परागत रूपमै तरकारी खेती उत्पादनमा लागेका किसानलाई थप सहुलियत दिइएपछि उत्पादन बढेको हो ।

 

विशेषगरी गुराँस पालिकाले हाल आलु उत्पादनलाई महत्त्व दिँदै आएको छ । पालिकाका २, ४, ५, ६ र ७ नम्बरका युवा, गरिब, विपन्न समुदाय र कोरोनाका कारण रोजगारी गुमाएकालाई गत वर्षदेखि कृषिमा आबद्ध गरिएपछि ४ सय युवाले स्थानीय स्तरमै तरकारी उत्पादनमा लागेर रोजगारी प्राप्त गरेको पालिका अध्यक्ष खेमराज ओलीले जानकारी दिए । 


आलु उत्पादन र बजारीकणका लागि गुराँस र यूनएनडिपीको संयुक्त साझेदारीमा महिला सशक्तीकरण मञ्च दैलेखको सहकार्यमा यस्तो अभियान थालिएको हो । किसानलाई उन्नत बिउ वितरण, उत्पादित आलुको बिउ भण्डारणका लागि गाउँमै बिउ संरक्षण अभियान सुरु गरिएको छ । कामको खोजीमा भारत जाने युवा गाउँमै आम्दानी भएपछि रोकिएका छन् ।

 

विपन्नको आर्थिक उत्थानका लागि आलु उत्पादनलाई विशेष महत्त्व दिइएको यूएनडिपीका आर्थिक, सामाजिक पुनर्उत्थान परियोजनाका अमित विष्टले जानकारी दिए । कमजोर आर्थिक अवस्थाका नागरिक तरकारी उत्पदानमा लागेका कारण आर्थिक अवस्था सुध्रिँदै गएको विष्टको भनाइ छ ।
 

उत्पादन क्षेत्रको स्थलगत अध्ययन गरेका आलु विशेषज्ञ डा. भीम खत्रीले बजाीरकरणको कुनै पनि समस्या नभएकाले गुराँसेका किसानले आलु उत्पादनबाट लाखौँ आम्दानी लिन सक्ने र गाउँमै रोजगार हुने बताए । ‘बजारीकरणको कुनै समस्या छैन । आम्दानीको राम्रो स्रोत हुने भएपछि किसानमा उत्साह थपिएको छ’, खत्रीले भने । 


तरकारी उत्पादन र पशुपालन क्षेत्रमा गुराँस पालिका एवं यूएनडिपीको आर्थिक लगानीमा महिला सशक्तीकरण मञ्चले कार्यक्रमको सहजीकरण गरिरहेको छ । कार्यक्रमअन्तर्गत १ करोड ८० लाख रकम रुपैयाँ खर्च गरिएको महिला सशक्तीकरण मञ्च दैलेखकी अध्यक्ष सुनिता चन्दले जानकारी दिइन् ।