close

किसानका दुःख : उत्पादनले मूल्य नपाएपछि लाखौँको तरकारी खेतमै कुहियो

किसानका दुःख : उत्पादनले मूल्य नपाएपछि लाखौँको तरकारी खेतमै कुहियो

Trulli
ADVERTISEMENT

बैतडी– बैतडीमा व्यावसायिक तरकारी खेतीमा आबद्ध किसानले बजारभाउ नपाउँदा बिक्री गर्न तयार तरकारी खेतमै कुहिएको छ ।  जिल्लाका अधिकांश ठाउँका किसानले उत्पादन गरेको बन्दागोभी खेतमै कुहिएको हो । 


कात्तिक सुरुमा परेको बेमौसमी वर्षाले खेतमा लगाएको तरकारीमा नोक्सान पुर्‍याएको छ । वर्षाबाट जोगिएको तरकारीले समेत बजार भाउ नपाएकाले बन्दागोभी खेतमै कुहिएको सूर्नया वडा नम्बर ६ का दामोदर अवस्थीले बताए । उनले भने, ‘विगतमा मकैबाली लगाउँदै आएको खेतमा आधुनिक कृषि गर्ने सोचले बन्दागोभी लगाएको हुँ । तर, बजार नपाउँदा गाईवस्तुलाई खुवाउनुपरेको छ । ३ महिनासम्म गरेको परिश्रम र खेती गर्दा खर्चिएको १० हजार रुपैयाँ खेर गयो ।’ 


दशरथचन्द नगरका विभिन्न ठाउँमा लगाएको बन्दागोभी कुहिँदा किसानलाई ठूलो घाटा भएको छ । बारीमा बेच्न ठीक्क पारेको ५० क्विन्टल बन्दागोभी कुहिएर नष्ट भएको वडा नम्बर १ मरतोलाका किसान पूर्णानन्द भट्टले जानकारी दिए । उनले भने, ‘मैले खेतमा लगाएको बन्दागोभी ५ प्रतिशतसमेत बचाउन सकिनँ । बन्दा कुहिएर खेतै गन्हाएको छ । हाम्रो गाउँभरिका करिब ५० बढी किसानले गरेको तरकारी खेती सबै कुहिएको छ ।’ 

 

गत वर्ष ४० देखि ६० रुपैयाँ प्रतिकेजीमा बिक्री भएको बन्दा यसपालि १० रुपैयाँ केजीमा समेत बेच्न मुस्किल भएको उनले बताए । कात्तिक सुरुमा आएको बेमौसमी वर्षाका कारण किसानको खेतमा लगाएको बन्दा, टमाटर, भन्टालगायत तरकारी कुहिएको हो ।

 

दशरथचन्द नगरपालिका वडा नम्बर १ का केशवराज भट्टले भने, ‘कुनै बेला किसानलाई चाहिएको बेला पानी नपर्दा समस्या हुन्छ । कुनै बेला अधिक वर्षाले पूरै खेतीपाती सखाप पारिदिन्छ । तीनदिने वर्षाले सबै तरकारी नष्ट गरिदियो ।’

 

कृषि ज्ञान केन्द्र बैतडीले किसानकै कमजोरीका कारण तरकारी कुहिएको दाबी गरेको छ । कृषिसम्बन्धी जानकारीबिना देखासिकीका भरमा मात्रै तरकारी खेती उत्पादन गर्दा उचित व्यवस्थापनको कमजोरीले बन्दा खेतमै कुहिएको कृषि अधिकृत गोपालदत्त भट्टले बताए । उनले भने, ‘ठाउँ–ठाउँमा संकलन केन्द्र छन् । किसानले आप्mना उत्पादन संकलन गरेर बेच्न केन्द्रसँग समन्वय गर्न सकेनन् । त्यसैले यस्तो अवस्था आएको हो ।’

 

बैतडीमा संकलन केन्द्र नभए पनि डडेल्धुरामा रहेकाले त्यहाँ गएर तकारी बिक्री गर्न सकिने अवस्था रहेको उनको दाबी छ । संकलन केन्द्रले किसानको बारीमै पुग्न एकै ठाउँका धेरै उत्पादन हुनुपर्ने र केन्द्रसँग किसानले समन्वय गर्नुपर्ने उनको सुझाव छ ।


बैतडीमा ३१ हजार ४ सय ८५ हेक्टर जमिन तरकारी खेती गर्न योग्य छ भने हाल २५ हजार ७ सय हेक्टरमा तरकारी खेती गरिँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । यो वर्ष जिल्लाभरि ९३ हेक्टर जमिनमा बन्दा खेती गरिएको छ ।