close

कृषिमा फड्किँदै बिर्तामोड

कृषिमा फड्किँदै बिर्तामोड

Trulli
ADVERTISEMENT

झापाको बिर्तामोड नगरपालिकाले विषादीरहित कृषि उत्पादनमा प्रोत्साहन गरिरहेको छ । विषादीरहित उत्पादनलाई जोड दिँदै किसानलाई कृषिमा आत्मनिर्भर बनाउन नगरपालिकाले विभिन्न योजना कार्यान्वयनमा लगिरहेको छ । ६५ देखि ८० प्रतिशत विषादीको प्रयोग हुने यहाँ न्यूनीकरण अभियान चलाइएपछि ४ प्रतिशतमा झरेको नगरको दाबी छ । नगरप्रमुख ध्रुव कुमार शिवाकोटीले भने, ‘नगरको गरिबी न्यूनीकरण गर्न कृषिलाई नै मूल आधार मानेका छौँ ।’


नगरले बेरोजगारी न्यूनीकरण र युवालाई कृषिमा प्रेरित गर्न विभिन्न योजना बनाएर काम गरिरहेको छ । बिर्तामोडमा ‘एक समूह एक उत्पादन र मेयर विषादीमुक्त कार्यक्रम पनि सञ्चालन भइरहेको छ । ८६ बिघामा आलु, ३ सय ८ बिघामा तोरी, ४२ बिघामा फापर उत्पादक किसानलाई अनुदान उपलब्ध गराइएको छ । ७८ जना किसानलाई अनुदान उपलब्ध गराएर व्यावसायिक तरकारी उत्पादन सुरु भइसकेको छ । यसअन्तर्गत २६ बिघामा किसानले तरकारी खेती गर्दै आएका छन् ।


नगरपालिकाले किसानलाई बिउ र आर्थिक सहयोग उपलब्ध गराएको छ । जमिनको लम्बेतान सेरोफेरो र किसानको उत्साहअनुसार नगरपालिकाको सहयोग सामान्य भए पनि कृषिमा नगरले सम्भावना देखाउने काम गरेको छ । बिर्तामोड नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र कडरिया भन्छन्, ‘हामीले किसानलाई उत्साह मात्र दिएका हौँ । ठूलो सहयोग गर्न सक्यौँ भने बिर्तामोड सबै उत्पादनमा आत्मनिर्भर बन्न सक्छ ।’


नगरपालिका भित्र सामूहिक खेतीको अवधारणामा आधुनिक खेती प्रणालीअनुसार आलु लगाइएको छ । मेयर विषादीमुक्त कार्यक्रममा तालिम लिएर कृषिमा थप सीपसहित लागेका किसान आलुबाट चौगुना मुनाफा कमाउन सकिनेमा विश्वस्त छन् ।


बिर्तामोडका किसान डिल्ली अधिकारी भन्छन्, ‘आलु खेती फाइदाजनक छ । तर, तालिम र आवश्यक सामग्री व्यवस्था नगरले गरिदिए आम्दानीको अर्को बाटो खोज्नुपर्दैन ।’ अर्का किसान गोविन्द सुवेदीले अहिले व्यावसायिक रूपमै गोलभेडा, काँक्रा, घिरौला, करेलालगायतको खेती गरिरहेका छन् । नगरको कृषि योजनाबाट सन्तुष्ट रहेको उनी बताउँछन् । ‘समस्या परेका बेला कृषि अधिकृत खेतबालीमै आएर सल्लाह दिनुहुन्छ’, उनी भन्छन्, ‘नगरले कृषिमा गरेको काम उत्साहजनक छ ।’ 


स्थानीय लक्ष्मीदेवी अधिकारी सयपत्री उत्पादक किसान हुन् । भारतीय बजारबाट विषादीसहितको फूल आउने भएकाले त्यसको विकल्पमा उनले आफैं बिरुवा उत्पादन गर्दै आएकी छन् । ‘भारतबाट महँगो मूल्यमा फूल ल्याउनुपरेको सुनेपछि आफैँ यो व्यवसायमा लागेकी हुँ’, अधिकारीले भनिन् । फूलमा बिर्तामोडलाई आत्मनिर्भर बनाउने लक्ष्य उनको छ । 


यस्तै, पुरन थेगिम लिम्बू वैदेशिक रोजगारमा लामो समय काम गरेर फर्किएका हुन् । बिर्तामोडको वडा नम्बर १० मा नमुना किसानको परिचय बनाइरहेका लिम्बूले डेढ बिघामा तरकारी खेती गरिरहेका छन् । 


यी किसान केही उदाहरण मात्र हुन् । बिर्तामोडका हजारौँ किसानले कृषिबाटै राम्रो आम्दानी लिइरहेका छन् । विषादीमुक्त नगरको परिकल्पनाका साथ जनप्रतिनिधिले काम गरिरहेको नगरप्रमुख शिवाकोटी सुनाउँछन् । नगरले किसानका लागि मकै छोडाउने मेसिन, खेत जोत्ने पावर ट्रिलरदेखि सिँचाइका लागि बोरिङ, गोबर ग्यासलगायत सामान वितरण गरिँदै आएको उनको दाबी छ । नगर कार्यपालिका बैठकले बिर्तामोडभित्र विषादी प्रयोग गरेका माछा बिक्री बन्द गरेको छ । नगरपालिकाले वडा–वडामा कृषि सामग्री संकलन केन्द्र स्थापना गरिरहेको छ ।