close

एकै जनाले बेचे १८ लाख रुपैयाँ बराबरकाे मह

एकै जनाले बेचे १८ लाख रुपैयाँ बराबरकाे मह

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम– बाँफिकोट गाउँपालिकाका एकै जना किसानले नै १८ लाख रुपैयाँ बराबरकाे मह उत्पादन गरेका छन् । वडा नं १ का महेन्द्र मल्लले यस वर्ष मात्रै १८ लाख बराबरको मह बिक्री गरेका हुन् । 

यस वर्ष पालिकाभित्रका किसानले ६५ क्वीन्टल मह उत्पादन गरेको कृषि शाखाका प्रमुख लोकेन्द्र ओली बताउँछन् । उनका अनुसार वडा नं १, २, ३ र ६ को माथिल्लो भागका ३५० घरधुरीले मौरी पालन गर्दै आएका छन् । 

गत वर्षभन्दा यस वर्ष महको उत्पादनमा वृद्धि भएको उनले पालिकाखबरलाई बताए । गत वर्ष पानी धेरै परेकोले मह उत्पादनमा ह्रास आएको उनले सुनाए । मौरीले मह बनाउने समयमा वर्षा नभएका कारण यो वर्ष महको उत्पादन बढेको उनको भनाइ छ । 

गाउँपालिकाका माथिल्लो क्षेत्रमा सेरेना जातको मौरी बस्ने गर्छ । किसानले परम्परागत शैलीबाट घार र मुढे घारमा सेरेना जातको मौरी पालन गर्दै आएका थिए । तर पछिल्लो समय किसानले आधुनिक घारबाट मौरी पालन गर्न थालेपछि महको उत्पादन बढेको उनको भनाइ छ ।

किसानले मौरी चरनको लागि कल्की तथा तोरी खेती लगाउने गरेको उनले सुनाए । उता जङ्गलमा चिउरी पनि फुल्ने भएकोले मौरी चरनमा समस्या नभएको उनले बताए । एउटा घारबाट कम्तीमा ५केजी मह उत्पादन गर्न सकिने उनले बताए । स्थानीय स्तरमा उत्पादित मह किलोको एक हजार दुई सय रुपैयाँमा बिक्री गर्ने गरेको उनको भनाइ छ । पालिकामा उत्पादित महको पोखरा, बुटवलदेखि काठमाडौंसम्ममा माग बढेको उनको भनाइ छ ।