close

पाँचखालमा बिजुलीका पक्की पोल

पाँचखालमा बिजुलीका पक्की पोल

Trulli
ADVERTISEMENT

काभ्रे - काभ्रेको पाँचखाल नगरपालिकाले विद्युत् लाइनका लागि राखिएका काठका जीर्ण पोल हटाई स्टिल तथा सिमेन्टका पोल राखेर विद्युतीय लाइनको स्तरोन्नति गरेको छ ।


पाँचखाल नगरप्रमुख महेश खरेल र नेपाल विद्युत् प्राधिकरण पाँचखाल वितरण केन्द्रको तर्फबाट केन्द्र प्रमुख मेघनाथ ढकालबीच गत मंसिरमा काठका जीर्ण पोल हटाई लाइन सुधार गर्न लिखित सम्झौता भएपछि हाल ६ हजार जीर्ण पोल फेरिएका हुन् ।


सम्झौतापत्रमा विद्युत् वितरण लाइन नपुगेर बिजुलीबाट वञ्चित रहेका घर तथा बस्तीहरूमा वितरण लाइन विस्तार गरी पूर्ण विद्युतीकरण भएको नगरपालिका बनाउन र जीर्णावस्थाका पोल तथा विद्युतीय संरचनालाई सुधार गर्ने उल्लेख थियो । 


पाँचखाल वितरण केन्द्रका प्रमुख मेघनाथ ढकालका अनुसार यो केन्द्रअन्तर्गत करिब आठ हजार पोल जीर्ण अवस्थामा रहेकामा हालसम्म ६ हजार जीर्ण पोल फेरिसकिएको छ ।  


वितरण केन्द्रले गत पुुसयता मुख्य लाइनका होचा तथा जीर्ण भई ढल्न लागेका काठका पोल हटाई मुख्य लाइनका ३ सय विद्युतीय पोल फेरिसकेको र भित्री शाखा लाइनको पनि धेरै स्थानमा जीर्ण पोल फेरिसकेको पाँचखाल केन्द्र प्रमुख मेघनाथ ढकालले जानकारी दिए ।


उनका अनुसार नगरभित्रका पोल जीर्ण भई विद्युतीय दुर्घटना बढ्न थालेकाले स्टिल र सिमेन्टका पोल राखी वितरण लाइनको स्तरोन्नति गरिएको हो । ‘हाल पाँचखाल नगरभित्रका करिब ७५ प्रतिशत जीर्ण पोल फेर्ने काम सकिइसकेको छ’, उनले भने ।


आगामी आर्थिक वर्षभित्र पाँचखाल नगरभित्रका थप २ हजार जीर्ण पोल हटाई स्टिल र सिमेन्टका पोल राख्ने नगरपालिका तथा वितरण केन्द्रको लक्ष्य छ । 


गत वर्ष उत्कृष्ट काम गरेको भन्दै नेपालभरमा पाँचखाल वितरण केन्द्र उत्कृष्ट शाखाको रुपमा सम्मानितसमेत भएको थियो । वितरण केन्द्रले यस वर्ष विद्युत् चोरीमा संलग्न साढे ४ सय ग्राहकलाई कारबाही गरी १८ लाख रुपैयाँ जरिमानासमेत असुलेको थियो ।


यस्तै, २ सय विपन्न परिवारलाई निःशुल्क विद्युुत् मिटर वितरण गरेको छ । गत वर्ष भने पाँचखाल केन्द्रअन्तर्गत ७ सय ५० जनाको लाइन काटिएको ढकालको भनाइ छ । उनका अनुसार वितरण केन्द्र स्थापना भएपछि पाँचखाल नगरपालिकामा १ हजार ५ सय नयाँ ग्राहक थपिएका छन् ।