close

१२ स्थानीय तहमा साना सिँचाइ कार्यक्रम 

१२ स्थानीय तहमा साना सिँचाइ कार्यक्रम 

Trulli
ADVERTISEMENT

पाँचथर- पाँचथर र इलामका १२ स्थानीय तहमा ‘साना सिँचाइ कार्यक्रम’ अघि बढाइएको छ । दुवै जिल्लाबाट छानिएका १२ स्थानीय तहमा दोस्रो चरणको कार्यक्रम सम्झौता गरिन थालेको हो ।

 
स्थानीय तहले सञ्चालन गर्ने कार्यक्रममा स्वीस सरकारबाहेक संघ, प्रदेश, स्थानीय तह तथा उपभोक्ताले लागत साझेदारी गर्नेछन् । दोस्रो चरणमा पाँचथरका ५ र इलामका ७ स्थानीय तहमा यो कार्यक्रम सञ्चालन हुन लागेको साना सिँचाइ कार्यक्रम फिक्कल क्लस्टरका संयोजक केशव लामाले जानकारी दिए ।


इलामका ५ र पाँचथरका ४ स्थानीय तहमा सञ्चालन भइरहेको पहिलो चरणको कार्यक्रम उपभोक्ता समितिमार्फत चलाइनेछ । स्थानीय तहको प्रस्तावका आधारमा योजना छनोट भएको लामाले बताए ।


पाँचथरको फिदिम नगरपालिका, फालेलुङ, याङबरक, मिक्लाजुङ र फाल्गुननद गाउँपालिकामा यो कार्यक्रम सञ्चालन हुने भएको हो । यस्तै, इलामको इलाम, सूर्योदय, देउमाई नगरपालिका तथा माङसेबुङ, चुलाचुली, रोङ र सन्दकपुर गाउँपालीकामा कार्यक्रम सञ्चालन हुनेछ । 


‘स्थानीय तहले योजना कार्यान्वयन गर्छ । अहिले पहिलो चरणका काम भइरहेका छन् । दोस्रो चरणका लागि विभिन्न स्थानीय तहमा सम्झौताको काम भइरहेको छ’, लामाले भने, ‘कृषकलाई सिँचाइ सुविधा पुर्‍याउन स्थानीय तहले आवश्यकता ठानेका योजना अघि बढेका छन् ।’


लामाका अनुसार पहिलो चरणमा २ जिल्लाका लागि २० योजनामा ६ करोड २३ लाख रुपैयाँ बजेट कार्यान्वयन भइरहेको छ । दोस्रो चरणका लागि ४१ योजना छनोट भएका छन् । ‘डिजाइनकै चरणमा भएकाले लागत एकिन भएको छैन’, लामाले भने ।

 

सिँचाइ योजनामा कुल लागतको ३० प्रतिशत स्वीस सरकारको, संघको २० प्रतिशत, प्रदेशको २० प्रतिशत र स्थानीय तहको २० प्रतिशत लागत साझेदारी हुनेछ । बाँकी १० प्रतिशत उपभोक्ताले श्रमदान गर्नुपर्नेछ । जग्गाको क्षेत्रफलका आधारमा कृषकले श्रमदान गर्नुपर्ने लामाले बताए ।