close

अब पानीको खोजीमा दिन बिताउनु पर्दैन (भिडियो खबर)

अब पानीको खोजीमा दिन बिताउनु पर्दैन (भिडियो खबर)

ADVERTISEMENT

सिन्धुली- कुरो सिन्धुलीको हो । बिहान उठ्यो कि सबैभन्दा पहिला पानी कै जोहो गर्नुपर्ने बाध्यता थियो । पानीका लागि कुवा तथा पँधेरोमा पालो कुर्नुपर्ने हुन्थ्यो । एक गाग्री पानीको जोहो गर्न पनि दिन रात एक गर्नुपथ्र्यो । अहिले यो सम्झँदा पनि कहाली लाग्दो हुन्छ, छरछरेबासीलाई । कुनै बेलाको दैनिकी अहिले कथा हुन थालेको छ ।

 

पिउने पानीको जोहो गर्दै वर्र्षौ बिताएका नागरिक यतिबेला आँगनकै धारामा पानी थाप्न पाउँदा खुसीको उन्मादमा छन् । स्थानीय सरकारको पहलमा धारामा पानि थाप्न पाउँदा बल्ल सरकारको भएको अनुभूति मात्रै पाएका छैनन्, वर्षौदेखिको खुसी फिरेको महसुस गरिरहेका छन् ।

 

एक छाक खाना बनाउने पानी र धित मर्ने गरी पिउने पानीको हाहाकारमा जीवन गुजारा गर्दै आएका सिन्धुलीको तीनपाटन गाउँपालिका–१ बेलघारीमा रहेको छरछरे, चिसापानी, हातिसार, क्वान्द्रे, भुकुने, नेपाले शिखर लगायतका बासिन्दाले अहिले धित मर्ने गरी पानी पिउन पाएका छन् । छ्यालव्याल पानी उपभोग गर्न पाएका छन् । 

 

खानेपानी पर्याप्त नहुँदा नुहाउने र लुगा धुने भनेको त उनीहरूका लागि एकादेशको कथा जस्तै बनेको थियो । गाउँमा पानी नहुँदा वैवाहिक कार्य गर्न समेत खोला धाउनुपर्ने बाध्यता थियो । तर, अब ति बाध्यता सबै अन्त्य भएका छन् । हिलो निचोरेर आउने धमिलो पानीमा श्वास अल्झेका नागरिकको यतिबेला खानेपानीको सुविधा मिलेपछि खुसीको सीमा नै छैन । 

 

लामो समयदेखि पानीको समस्या झेल्दै आएका नागरिकलाई केही गैरसरकारी संस्थाले खानेपानी जोहो गर्नका लागि सिमेन्टको घ्याम्पो बनाइदिएका थिए । आकाशबाट परेको पानी घरको बलेसीबाट संकलन गरि घ्याम्पोमा संकलित पानीले वर्ष दिन बिताउनुपर्ने बाध्यता थियो । तर, यतिबेला वडा कार्यालयको पहल र नेपाल स्वास्थ्यका लागि पानी ‘नेवा’को १ करोड ४ लाखको लागत साझेदारीमा सोलार लिफ्ट प्रविधिबाट सबैलाई पानी वितरण गरिँदै आएको छ । वडामा जनप्रतिनिधि आएपछि छरछरे, चिसापानी, हात्तीसार, क्वान्द्रे, भुकुने, नेपाले शिखर लगायतका स्थानमा वर्षौ देखिको खानेपानीको समस्या यस वर्षबाट समाधान भएको छ ।

 

डोकोमा गाग्री बोकेर घण्टौपछि घर आउने स्थानीयको अहिले पानीका लागि खर्चनु पर्ने समयको बचत भएको छ । बेलघारी १ निवासी सयौं घर परिवारले यतिबेला स्वच्छ पानी पिउन पाएका छन् । वडा कार्यालयको पहलमा ‘नेवा’ले लिफ्ट सञ्चालन गरेर स्थानीयलाई खानेपानीको सुविधा दिएको छ ।