close

पानीका जारको अनुगमन: गुणस्तरमा शंकै शंका

पानीका जारको अनुगमन: गुणस्तरमा शंकै शंका

Trulli
ADVERTISEMENT

काठमाडौं– काठमाडौं महानगरपालिकाको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले अहिले पानीको गुणस्तरको अनुगमन गरिरहेको छ । पिउने पानीको व्यवसाय गर्ने व्यवसायीले पानी भर्न प्रयोग हुने जार कुच्चिएको, चुहिने, फोहोर, लेवल नभएको पाइएपछि कम्पनीबाट पानी भरेर वितरण गर्न सहर पस्ने गाडीलाई नाकामा रोकेर गुणस्तर अनुगमन थालेको हो । अनुगमनका क्रममा पाइएका जारहरुको अवस्था हेर्दा पानीको गुणस्तरमा शंकै शंका देखिएका छन् । 

यस क्रममा आइतबार वडा नं. ३२ जडीवुटीबाट कागेश्वरी मनोहरा सडक खण्डमा अनुगमन गरेको हो । कृषि तथा पशुपंक्षी विभागका प्रमुख एवं निरीक्षण अधिकृत डा. अवधेश झाका अनुसार, पानी बोकेर आउने ११ वटा ट्रिपर रोकेर पानी र जारको अवस्था हेरिएको थियो । यसरी हेरिएका सवारी साधनमा एउटै मात्र कम्पनीका जार कुनैमा पनि थिएनन् । भएकामध्ये आधामा लेवल राखिएको थियो । आधामा थिएन । कुच्चिएर, चुहिने, फुटेका जार सरोबरी थिए । पानीको बिल र चलानी कसैसँग पनि थिएन । सवारी साधनमा भएका चालक तथा सहयोगीसँग समस्याका विषयमा अधिकारीहरुले जानकारी माग्दा आफूहरुलाई थाहा नभएको साहुलाई सोध्नु पर्ने बताए । 

समस्या देखिएकामध्ये १५ वटा खाली, १६ वटा भरिएका, लेवल बिनाको एउटा गरेर ३२ वटा जार महानगरले जफत गरेको छ । पछिल्लो समय पानीको जारमा कीरा भेटिएको गुनासो लिएर उपभोक्ताहरु विभागमा गुनासो गर्न आउन थालेका छन् । वितरण प्रणालीबाट आएको पानीमा विश्वास नगरेर उपभोक्ता जारको पानीमा निर्भर भएका छन् । पैसा तिरेपनि सोचेको जस्तो गुणस्तरको पानी पाउन सकेका छैनन् । उपभोक्ताले पानीको शुद्धता एकिन गर्न जाँगर चलाएको देखिँदैन । व्यवसायीले व्यवसायिक धर्म निर्वाह गरेनन् भन्दैमा उपभोक्ता चुप हुन हुँदैन ।