close

सूर्योदयले कक्षा १ देखि ८ सम्म अधिकार र न्याय पढाउने 

सूर्योदयले कक्षा १ देखि ८ सम्म अधिकार र न्याय पढाउने 

Trulli
ADVERTISEMENT

इलाम- इलामको सूर्योदय नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेको छ । नगरपालिकाले अबको १ वर्षभित्र आधारभूत सबै तहको पाठ्यपुस्तक निर्माण गरी पठनपाठन सुचारु गर्ने बताएको छ ।

 

त्यसका लागि आवश्यक तयारी सुरु भएको नगरपालिकाका प्रवक्ता वीरबहादुर लाप्चाले जानकारी गराए ।

 

पाठ्यक्रमअनुसार बालबालिकाले विद्यालयको आधारभूत तहमा स्थानीय जनप्रतिनिधिको काम, कर्तव्य र अधिकारका नीतिगत व्यवस्थादेखि नगरपालिकालाई समृद्ध बनाउनेसम्मका विषय समेटिएका छन् ।

 

नागरिकलाई न्यायको पहुँचमा पुर्‍याउन स्थानीय तहको न्याय सम्पादन प्रक्रियामा न्यायिक समितिको भूमिकाबारे जानकारी दिइएको छ । पाठ्यपुस्तकले नगरपालिकाको आर्थिक स्तरलाई समृद्ध बनाउने सम्भावनाको आधार तय गरेको नगरप्रमुख रणबहादुर राईले बताए ।


 
‘बालबालिकालाई बाहिरी संसारसँगै आफ्नै ठाउँगाउँबारे जानकारी दिने उद्देश्यले नगरपालिकाले कक्षा १ देखि ८ सम्मको आधारभूत तहको पाठ्यक्रम निर्माण गरेका हो’, नगरप्रमुख राईले भने ।

 

उनका अनुसार आधारभूत तहका विद्यार्थीले औपचारिक रूपमा आफ्नो गाउँ, समाज भूगोलको ज्ञान प्राप्त गर्नेछन् । गाउँमा प्रचलित भाषा, संस्कृति, ऐतिहासिक र धार्मिक महत्त्वका स्थानको जानकारीसमेत हासिल गर्नेछन् ।
 

यस्तै,पाठ्यक्रममा प्राकृतिक सम्पदाको संरक्षण, संवर्द्धन, सम्भावित जोखिम तथा विपत्तिबारे अध्ययन गराइनेछ । पाठ्यपुस्तकमा सामाजिक मूल्य-मान्यता अनुशरण गर्न बालबालिकालाई प्रोत्साहित गर्ने विषय समेटिएको छ ।

 

पाठ्यपुस्तक निर्माणमा २५ लाख रुपैयाँ खर्च

 

नगरपालिकाले स्थानीय पाठ्यक्रमको लोकापर्ण गत २४ पुसमा गरेको छ । पाठ्यक्रम निर्माण गर्न ३ वर्ष लागेको नगरपालिकाले जनाएको छ ।

 

पाठ्यक्रम निर्माण गर्न सूर्योदय शिक्षा शाखाले पाठ्यक्रमको विकासका निम्ति ३ वर्षदेखि पाठ्यक्रम विज्ञ र सरोकारवालासित छलफल, गोष्ठी, सल्लाह, सुझाव लिएको थियो ।

 

पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद अधिकारी, विज्ञ विवेक विनय र डा. गणेशराज अधिकारीले सहयोग गरेका थिए । 

 

योगनिधि भट्टराई संयोजकत्वको निर्माण समितिले सदस्य गणेशप्रसाद आचार्य, नरेन्द्र खत्री, देवकुमार दाहाल, वंशिधर दाहाल, विमला मिश्रको समूहले पाठ्यक्रम निर्माण गरेको नगरपालिकाले जनाएको छ ।

 

पाठ्यक्रम निर्माण गरि सकेको नगरपालिकाले पुस्तक प्रकाशनसम्म २५ रुपैयाँ लाख खर्च लाग्ने अनुमान गरेको छ । 

 

यस्तो छ, स्थानीय पाठ्यक्रम निर्माण गर्ने नीतिगत व्यवस्था

 

नेपालको संविधानको अनुसूची ८ मा आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएको छ । 

 

राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ ले स्थानीय पाठ्यक्रमको सम्बन्धमा कक्षा १ देखि ३ सम्म साप्ताहिक ५ पाठ्यभार राखेर वार्षिक १ सय ६० घन्टा पढाउनुपर्ने व्यवस्था गरेको छ ।

 

यस्तै, कक्षा ४ देखि ८ सम्मका लागि पाठ्यभार ४ राखेर १ सय २८ घन्टा पढाउनुपर्ने व्यवस्था छ ।

 

संघीय सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र, सानोठिमी भक्तपुरबाट प्रकाशित स्थानीय पाठ्यक्रम विकास तथा कार्यान्वयन निर्देशिका (मातृभाषासहित), २०७६ ले स्थानीय पाठ्यक्रमको सन्दर्भ अवधारणा, पाठ्यक्रम विकास, कार्यान्वयन प्रक्रिया, स्थानीय पाठ्यक्रमको ढाँचाको मार्गनिर्देश गरेको छ ।

 

सरकारबाट एकीकृत पाठ्यक्रम (कक्षा १-३) को ढाँचा स्वीकृत भई देशभर २०७७ देखि कार्यान्वयनमा छ । पाठ्यक्रममा व्यवस्था भएअनुसार कक्षा १ देखि ३ सम्म ५ वटा विषय गणित, नेपाली, अंग्रेजी, हाम्रो सेरोफेरो र मातृभाषा÷स्थानीय विषय पढाउनुपर्ने प्रावधान छ । 

 

स्थानीय पाठ्यक्रम वा मातृभाषामध्ये एउटा विषय छनोट गरी पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गर्नुपर्ने प्रावधान छ ।