close

सुनवल नगरप्रमुख थापाले बेहोरे २ जना दलित युवाको उच्च शिक्षा अध्ययन खर्च

सुनवल नगरप्रमुख थापाले बेहोरे २ जना दलित युवाको उच्च शिक्षा अध्ययन खर्च

Trulli
ADVERTISEMENT

नवलपरासी- नवलपरासी पश्चिमको सुनवल नगरपालिकाका नगरप्रमुख भीमबहादुर थापा क्षेत्रीले आर्थिक अवस्थाकै कारण अध्ययन गर्न वञ्चित २ जना दलित विद्यार्थीको उच्च शिक्षा अगाडि बढाउने जिम्मा लिएका छन् । 


आर्थिक अवस्थाकै कारण उच्च शिक्षा हासिल गर्न नसक्ने अवस्थामा पुगेका वडा नम्बर २ का पप्पु हरिजन र सुकदेव हरिजनको उच्च शिक्षाको जिम्मेवारी थापाले लिएका हुन् ।


नगरप्रमुख थापाले आर्थिक अवस्था कमजोर हुँदा अध्ययन छाडेर रोजगारीको खोजीमा रहेका उनीहरूलाई पहिलो वर्षको अध्ययन खर्चस्वरूप ५१ हजार ९ सय ६० रुपैयाँ लुम्विनी माध्यमिक विद्यालयलाई हस्तान्तरण गरे ।


‘अध्ययनमा रुचि हुँदाहुँदै आर्थिक कारणले विद्यालय छाड्न लागेको थाहा पाएपछि मैले उनीहरूका लागि स्नातकोत्तरसम्मको जिम्मा लिएको छु,’ नगरप्रमुख थापाले भने ।


नगरप्रमुखको आर्थिक सहयोगले उच्च शिक्षा अध्ययन गर्न पाएपछि पप्पु र सुकदेव हर्षित भएका छन् । विद्यार्थी सुकदेव हरिजनले भने, ‘अब राम्रोसँग अध्ययन गरेर सरकारी सेवामा प्रवेश गर्ने लक्ष्य छ ।’ 

 

सरकारी सुविधा उपभोग नगर्ने घोषणा गरेका सुनवल नगरप्रमुख थापाले आफूले पाउँदै आएको तलब-भत्ता वृद्धवृद्धा, असहाय, बिरामी र सामाजिक काममा खर्चिंदै आएका छन् ।