close

प्रविधिमा जोडिँदै जगन्नाथका सामुदायिक विद्यालय

प्रविधिमा जोडिँदै जगन्नाथका सामुदायिक विद्यालय

Trulli
ADVERTISEMENT

बाजुरा– बाजुराको जगन्नाथ गाउँपालिकाका सामुदायिक विद्यालयमा कम्प्युटर हस्तान्तरण गरिएको छ । गाउँपालिकाको सातौँ गाउँसभाले शैक्षिक गुणस्तर सुधारका लागि माध्यमिक विद्यालयलाई सूचना, सञ्चार र प्रविधिसँग जोड्न कम्प्युटर वितरण गरिएको हो ।
 
विद्यालयमा विज्ञान प्रयोगशाला, पुस्तकालय, इन्टरनेट, २ वटा निमाविमा कम्प्युटर शिक्षक र गुरुकुलमा स्वयंसेवक शिक्षकको व्यवस्था, सामुदायिक अध्ययन केन्द्रको स्तर वृद्धि गरी युवा सूचना केन्द्रलाई पुस्तकालयको रूपमा विकास, विद्यालयको शैक्षिक गुणस्तर सुधार, अतिरिक्त कक्षा सञ्चालन र शिक्षकलाई पेसागत तालिम दिने कार्यक्रम गाउँपालिकाले अगाडि सारेको छ ।

 

यस्तै, माध्यमिक विद्यालयमा प्राविधिक धारको शिक्षा सञ्चालन र आधारभूत तहका विद्यालयमा विद्युतीय हाजिरी गर्ने नीति बनेको गाउँपालिकाका प्रधानमन्त्री रोजगार संयोजक लक्ष्मण जोशीले बताए ।

 

गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएअनुसार सबै विद्यालयको शैक्षिक क्षेत्र सुधारमा आर्थिक वर्ष २०७७÷७८ मा मावि र निमाविमा विद्युतीय हाजिरी जडान, कम्प्युटर शिक्षकको व्यवस्था र ३ वटा माविमा इन्टरनेट जडान गरिसकेको रोजगार संयोजक जोशीले जानकारी दिए ।

 

देवलकोट माविमा कृषि जेटीएको पठनपाठन, पालिकाभित्रका २६ जना स्वयंसेवक शिक्षकलाई ३ दिने सेवा प्रवेश तालिम र प्रधानाध्यापक र लेखापाललाई २ दिनको लेखा व्यवस्थापन तालिम सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।
 
शैक्षिक गुणस्तर सुधारका लागि गत वर्ष ३ वटा माविमा कम्प्युटर ल्याबको व्यवस्था गरिएको थियो भने यो वर्ष महादेव आधारभूत विद्यालय मनिकाँडा र बालविकास आधारभूत विद्यालय तल्लो हुनीलाई ३–३ वटा डेस्कटप कम्प्युटर, १–१ सेट प्रिन्टर र १–१ सेट फोटोकपी मेसिन प्रमुख प्रशासकीय अधिकृत विनोदप्रसाद गैरेले हस्तान्तरण गरे ।
 
सरकारले कम्प्युटरलाई अनिवार्य विषयको रूपमा लागू गरे पनि अधिकांश विद्यालयमा कम्प्युटर नभएका कारण विद्यार्थीले सैद्धान्तिक ज्ञान हासिल गरे पनि प्राटिकल नभएका कारण व्यावहारिक कठिनाइ भोग्नुपरेपछि पालिकाले प्रत्येक विद्यालयलाई कम्प्युटर व्यवस्था गरेको शिक्षा शाखाका प्राविधिक सहायक दीपक भण्डारीले बताए ।

 

यसै वर्ष पालिकाभित्रका २ वटा सामुदायिक अध्ययन केन्द्रलाई १–१ वटा कम्प्युटर, प्रिन्टर र पुस्तकालयका लागि आवश्यक बजेट व्यवस्था गरिएको जगन्नाथ गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले बताए ।